पशुपतिले एक अर्बको अक्षय कोष स्थापना गर्ने

समाचार

pashupati

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट गरेर एक अर्ब रुपियाँको अक्षय कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम ती बैंकमा २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको कोषाध्यक्ष डा मिलनकुमार थापाले
जानकारी दिए ।

यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने उनले बताए ।

मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ । ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ ।

हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा ३५ करोड, माछापुच्छ्रे बैंकमा १३ करोड, नेपाल एसबिआई बैंकमा  १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ ।

ती बैंकमा अक्षय कोषमा राखिएको रकम र त्यसपछि जम्मा भएको आम्दानी गरी जम्मा एक अर्ब चार बैंकमा जम्मा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार