राष्ट्रपति ट्रम्पले अस्पतालबाटै काम गर्ने

Uncategorized

Trump

एजेन्सी । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरू देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीले जानकारी दिएका छन् ।

ट्रम्पलाई शुक्रबार राति वाल्टर रिड नेसनल सैनिक अस्पताल लगिएको हो । अस्पतालमा उनलाई थेरापीलगायतका उपचारका उपाय अपनाइएको छ ।

उनको उपचारमा संलग्न डा. कनलीले जारी गरेको विज्ञप्तिका अनुसार सावधानी अपनाउनका लागि ट्रम्पलाई ‘रेजेनेरोन पोलीक्लोनल एन्टिबडी मिश्रणको ८ ग्राम’ खुवाएको हो । उक्त औषधि शरीरमा भाइरसको मात्रा घटाउन र छिटो सञ्चो बनाउन दिइएको उनको भनाई छ ।

राष्ट्रपति कार्यालयबाट अस्पतालतर्फ प्रस्थान गर्ने क्रममा ट्रम्प मास्क लगाएको अवस्थामा देखिएका थिए । उनी राष्ट्रपति कार्यालयबाट अस्पतालसम्म हेलिकोप्टरमा गएका हुन् । अस्पताल जानुअघि उनले दिएको भिडियो सन्देशमा आफूले आराम नै महसुस गरिरहेको तर थप सुरक्षित र सुनिश्चित हुन अस्पताल जान लागेको बताएका थिए ।

अस्पताल पुगेपछि पहिलो ट्वीट गर्दै शुक्रबार राति उनले लेखेका छन्, ‘मलाई राम्रो भइरहेको छ, सबैलाई धन्यवाद छ । माया छ ।’ अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचन हुन गइरहेका बेलामा उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति ट्रम्प सङ्क्रमित भएका हुन् । उनले आफू कोरोनाबाट सङ्क्रमित भएको शुक्रबार दिउँसो एक बजे सार्वजनिक गरेका थिए ।

उनी बिहीबार मध्याह्न एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएको बताइएको छ । उनीसँगै उनकी पत्नी मेलानिया पनि सङ्क्रमित भएकी छन् । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामन्य नै रहेको भिडियोमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अस्पताल भित्रै रहे पनि काम भने गरिरहने योजना बनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उनले उपराष्ट्रपतिलाई कार्यवाहकको जिम्मेवारी दिएका छैनन् । उनी अहिले ७४ वर्षको छन् । यो उमेर समूह कोरोना सङ्क्रमितका लागि अत्यन्त खतरापूर्ण उमेर समूह मानिन्छ ।

विश्वमै सवैभन्दा धेरै मानिस कोरोनाबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा राष्ट्रप्रमुखलाई नै सङ्क्रमण भएपछि थप त्रास फैलिएको छ । अमेरिकामा अहिलेसम्म २ लाख ५ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार