इँटा भट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ

समाचार

pakrau

रौतहट । रौतहटमा दर्जन बढी व्यक्तिलाई इँटा भट्टामा हालेर जिउँदै जलाएका हेड मिस्त्री पक्राउ परेका छन् । कांग्रेस नेता अफताव आलमसँग मिलेर जिउँदो मान्छेलाई इँटा भट्टमा हालेर जलाएर हत्या गरेको अभियोग लगेका बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार अभियुक्तलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए ।

उनले अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएका थिए ।

पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस–४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो । सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए ।

विस्फोटको पोल खुल्ने डरले घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो । सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रारम्भिक अनुसन्धानमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार