कोरोना संक्रमित काठमाडौंमा मात्र ६० प्रतिशत, अब के हुन्छ ?

ब्यानर

covid swasthya gdf

काठमाडौं । कोरोनाभाइरसका संक्रमितको संख्या पछिल्ला साताहरूमा क्रमश ः वृद्धि हुँदै शुक्रवार अहिलेसम्मको सर्वाधिक देखिनु निकै चिन्ताजनक अवस्था भएको विज्ञहरूले बताएका छन्। शुक्रवार १४,७४९ व्यक्तिको पीसीआर परीक्षण गर्दा २,७२२ अर्थात् परीक्षण गरिएकामध्ये करिब १९ प्रतिशत संक्रमित दर देखियो।

अहिले चिन्ताजनक देखिएको यो अवस्था हिउँदको अन्त्यसम्म जारी रहने सम्भावना रहेकोले सरकारले ढिला नगरी नियन्त्रणका थप उपाय अपनाउनुपर्ने जनस्वास्थ्यविज्ञ तथा ह्याम्स अस्पतालमा कार्यरत डा. किरणराज पाण्डेले बताए।

संक्रमितको अहिलेको अवस्थाले समुदाय स्तरमा तीव्र गतिमा संक्रमण फैलिरहेको र नियन्त्रणका लागि जनस्वास्थ्य स्वास्थ्य सङ्कटकाल लागु गर्न ढिला भइसकेको स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी बताउँछन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षण गरिएका संख्या मध्ये ३ देखि १२ प्रतिशतमा संक्रमण देखिए त्यसलाई सामान्य अवस्थाकै रूपमा हेर्नुपर्ने उनीहरू बताउँछन्।

तर त्योभन्दा बढी देखिए नियन्त्रणका लागि थप प्रयास गर्नुपर्ने जनाउ दिने भन्दै अहिले हामी केही सातायता त्यही अवस्थामा रहेको डाक्टर तिवारी बताउँछन्।

त्यो पनि जनघनत्व बढी भएका कारण मानिसको आवातजावत बढ्ने काठमाडौं उपत्यकामा मात्रै शुक्रवार ६० प्रतिशत र शनिवार ५५ प्रतिशत संक्रमित देखिएकाले सरकारले तत्काल जनस्वास्थ्य सङ्कटकाल लागु गर्नुपर्ने र कोरोनाभाइरससम्बन्धी सामाजिक संहिता लागु गर्नुपर्ने उनी बताउँछन्।

ूसंक्रमितको संख्या दिनानुदिन बढिरहेको अहिलेको अवस्थाले काठमाडौंमा मात्रै कम्तीमा करिब १० हजार अक्सिजनको व्यवस्था भएको बेडसहितका आइसोलेसन सेन्टर बनाउनुपर्ने देखिन्छ,ू डाक्टर तिवारीले भने, ‘अहिलेसम्म पनि लक्षण नदेखिएका संक्रमितको संख्या धेरै छ। तर जब घरमा आइसोलसनमा बसेका बिरामी अस्पताल जानुपर्ने अवस्थामा अस्पतालले थेग्दैन त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी र अक्सिजनको सुविधा भएको आइसोलेसन सेन्टरमा राख्नुपर्छ।’

ह्याम्स अस्पतालमा कार्यरत डाक्टर पाण्डे अहिले काठमाडौंका सुविधा सम्पन्न कुनै पनि अस्पतालमा आइसियू पाउन मुस्किल रहेको बताउँछन् कोरोनाभाइरसबाट संक्रमित व्यक्ति अहिले नै जेनेरल वार्डमा धेरै रहेको र उनीहरूको अवस्था बिग्रिएपछि आइसियूमा लैजान ठाउँ अपुग हुन थालेको उनी बताउँछन्।

‘काठमाडौं उपत्यकाबाहिरका मानिसलाई पनि काठमाडौंमै उपचार गर्नुपर्छ भन्ने हुन्छ। अहिले कुनै पनि अस्पतालमा आइसियू पाउन गाह्रो छ,’ डाक्टर पाण्डे भन्छन्। उनका अनुसार मानिसको हिँडडुल धेरै हुने दशैँ, तिहार, छठजस्ता चाडबाडले पनि संक्रमित बिरामीको संख्या बढ्नेछ। (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार