अस्पतालबाट फर्किदै ट्रम्पले भनेः कोरोनाबाट डराउन पर्दैन

समाचार

donald trump Z3hhIcPoPI

एजेन्सी । कोरोना भाइरस सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनको अस्पताल बसाईपछि उनी डिस्चार्ज भएका हुन् ।

ट्रम्पले आगामी महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने प्रतिक्रिया दिएका छन् । अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।

त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।’

ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ। अस्पताल छाड्नुभन्दा केहीबेर अघि राष्ट्रपति ट्रम्पले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन्।’ पछिल्लो पटक सार्वजनिक भएको मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा १४ अंकले पछि परेका देखिएको छ ।

उनका चिकित्सक डा।सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए ।

उनले ट्रम्पको अवस्था घर जान सक्ने गरी सुरक्षित रहेको बताउँदै उनी अझै एक साता २४ घन्टा नै विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए ।

परस्पर विरोधी विवरणहरूपछि ट्रम्पको अस्वस्थताको गम्भीरताबारे प्रश्नहरू बाँकी नै छन्। ह्वाइट हाउसभित्र देखिएको सङ्क्रमणको दायरा पनि अझै स्पष्ट पारिएको छैन । अस्पतालबाट बिदा हुँदै गर्दा उनले सबैलाई धेरै धन्यवाद भन्दै अन्य प्रश्नहरूको उत्तर दिएनन् ।

ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधि र ज्ञान विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।’

अमेरिकामा कोरोना संक्रमणबाट ७४ लाखभन्दा बढी संक्रमित भएका छन् भने दुई लाख १० हजारभन्दा बढी अमेरिकीको मृत्यु भएको छ।
सोही क्रममा ह्वाइट हाउसका थप कर्मचारीहरू पनि सङ्क्रमित पुष्टि भएको छ। ट्रम्पसँग नजिक रहेका कम्तीमा १२ जनामा भाइरस पोजेटिभ देखिएको छ। संक्रमित हुनेमा धेरै कनिष्ठ कर्मचारी छन् ।

यसअघि कोरोना भाइरस सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेकै बेला केही बेर गाडीमा बाहिर निस्किएको घटनालाई लिएर विज्ञहरूले राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए ।

उनले अस्पताल बाहिर रहेका समर्थकहरूप्रति आभार व्यक्त गर्न गाडी प्रयोग गरेर बाहिरिएका थिए । तर ट्रम्पको सो गतिविधिले उनको सुरक्षाका लागि खटिएका सदस्यहरू जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको थियो । जसमा उनीसँग गाडीमा सवार व्यक्तिले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार