लाज छोप्न सांसदहरुले गरे दशै भत्ता फिर्ता

ब्यानर

Money paisa rakam NYfiuAliCy

काठमाडौं । संघीय संसद सचिवालयले महिना नमर्दै सांसद र उनीहरुका स्वकीय सचिवलाई तलब भत्ता पठाइदिन्छ । नियमित आउने तलबमा कुनै गढबढी भए कतिपय सांसदहरु भवन नम्बर १ को पहिलो तलामा रहेको लेखा शाखा पुगिहाल्छन् । आफैं नगए पनि स्वकीय सचिवलाई पठाउँछन् र भुक्तानी विवरण प्रिन्ट गर्न लगाउँछन् ।

संसद सचिवालयबाट प्राप्त हुने तलब भत्ताको सूचना मोबाइलमार्फत पठाउने व्यवस्था छ । ‘हरेक सांसदलाई आफ्नो तलब भत्ता बैंकमार्फत पठाउने गरिएको छ,’ लेखा शाखाका एक अधिकारी भन्छन् । सचिवालयले दसैं भत्तासहितको तलब साताअघि नै खातामा हालिदिएको थियो ।

कानूनविपरीत दिइएको दसैं भत्ताबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कतिपय ठूला नेता र सांसदहरु धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय सांसदहरुले आफ्नो लाज छोप्न सभामुख अग्नि सापकोटा र संसद सचिवालयलाई दोष देखाउन थालेका छन् । तलब फिर्ता गर्ने सूचीमा सिनियर नेता नै बढी छन् ।

सचिवालयले दसैं भत्ता भनेर ६४ हजार ९० रुपैयाँ खातामा पठाएको थियो । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेको ऐनमा संघीय संसदका सदस्यहरुलाई पारिश्रमिकका अतिरिक्त मासिकरुपमा विशेष भत्ता, सञ्चार सुविधा, आवास, बिजुली, धारा वापतको सुविधा दिने उल्लेख छ । त्यसबाहेक बैठक बसेको दिन बैठक भत्ता, यातायात, एकमुष्ट फर्निचर खर्च, भ्रमण भएकाबेला दैनिक भ्रमण भत्ताको व्यवस्था गरिएको छ ।

२०७६ असारमा संसदीय समितिको बैठकमा राष्ट्रिय सभाका सांसद बिनादेवी पोखरेलले तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडासँग दसैं भत्ता माग गरेकी थिइन् ।

तत्कालिन सभामुख कृष्णबहादुर महरासमक्ष सांसद र उनीहरुको स्वकीय सचिवले डेलिगेसन दिएपछि दसैं भत्ताको निर्णय भएको थियो । ‘गएको वर्ष गुपचुपमै दसैं भत्ता खाएका सांसदहरुले समाचार सार्वजनिक भएपछिमात्रै फेससेभिङ गरका हुन्,’ सचिवालयका एक उच्च अधिकारी भन्छन् । गएको वर्ष पहिलोपटक र अन्तिम समयमा निर्णय भएकाले मिडियाले पत्तो पाएनन् ।

२०५८ साल अगाडि सांसदहरुले चाडपर्व खर्चसहित १३ महिनाको तलब पाउने गरेका थिए । संसदले २०५८ असोजमा दसैं भत्ता कटौती गर्ने निर्णय गर्‍यो । उक्त निर्णयपछि २०५६ पछाडि सांसदहरुले लिएको सुविधा फिर्ता गराइएको थियो । लगत्तै परेको रिटमा सर्वोच्च अदालतले कानून बनाएर भत्ता लिन भनेको थियो । तर, त्यसपछि बनेका ऐनमा दसैं भत्ता राखिएको थिएन ।

अहिलेसम्म राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाका नेता भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल तथा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, नेताहरु प्रकाशमान सिंह, गगन थापाले दसैं भत्ता फिर्ता लिने घोषणा गरेका छन् । शर्माले चाँही भत्ता नलिने तर जिल्लाका नागरिकको उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । कांग्रेस नेता मिनेन्द्र रिजालले भने भत्ता फिर्ता लिने एकल निर्णय नगर्ने बरु संसदीय दललाई एकमुष्ठ फिर्ता गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार