दुई अर्ब चुक्ता पुँजीसहितको दोस्रो सहकारी बैंक आउँदै

अर्थ/बाणिज्य

bank bank

काठमाडौं । सहकारी क्षेत्रलाई नै लक्षित गर्दै दोस्रो सहकारी बैंक आउने भएको छ । कुल दुई अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजीमा नेपाल सरकारको समेत सेयर लगानी रहने गरी ‘नेपाल सहकारी बैंक’ स्थापना हुने भएको हो ।

कुल २ अर्ब २२ करोड चुक्ता पुँजी रहने बैंकको ४६ अर्ब ८८ करोड निक्षेप र २७ अर्ब १५ करोड कर्जा लगानी रहने गरी स्थापना गर्न लागिएको बैंक गठन कार्यदलले जनाएको छ ।

त्यसो त प्रस्तावित बैंकको प्रारम्भिक भेला कार्यदलले यही माघ १७ गतेलाई बोलाइएको छ । योसँगै सहकारी क्षेत्रलाई नै मुख्य कार्यक्षेत्र बनाएर सञ्चालन हुने बैंकको संख्या दुई पुग्ने भएको छ । हाल सहकारी क्षेत्रमा एउटा मात्र बैंक संचालनमा छ ।

‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यकता पूरा गर्न सक्दैन । त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं । हालसम्म बैंक दर्ताका लागि ७ सय १५ वटा संस्थाबाट सेयर प्रतिवद्धता प्राप्त भइसकेको छ । माघ दोस्रो साता प्रारम्भिक संस्था दर्ताका लागि सहकारी विभागमा पेश गर्ने छौं’ बैंक गठन कार्यदलका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

सहकारी विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर २९ हजार ८ सय सहकारी संस्था सञ्चालनमा रहेकोमा हाल सञ्चालनमा रहेको सहकारी बैंकमा १२ हजार मात्र सदस्य रहेका छन् । यी बाहेका संस्थाहरु र तीनका विषयगत संघलाई समेत समेटेर नयाँ बैंकले वित्तिय गतिविधि सञ्चालन गर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

सहकारी ऐन, २०४६ को धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरु गठन गर्न सकिने कुरा उल्लेख छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ ।

आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । सञ्चालनमा रहेको सहकारी बैंकलाई अन्य संस्थाका रूपमा वित्तीय कारोबार गर्ने अनुमतिपत्र दिएको छ । तर, अब राष्ट्र बैंकले सहकारी बैंक सञ्चालन सम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्तावित अध्यक्ष भण्डारी बताउँछन् ।

हाल सहकारी ऐन २०७४ ले एकभन्दा बढी सहकारी बैंक दर्ता गर्ने बाटो खुला गरेपछि सहकारी संस्थाहरुको लगानीमा नयाँ सहकारी बैंक स्थापना हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार