युनाइटेड इन्स्योरेन्समा विवादै विवाद

अर्थ/बाणिज्य

united insurance pQYAH6Kw1B

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुख उपासना पौडेलको कार्यशैलीलाई लिएर केही कर्मचारीले असन्तुष्टि पोख्दै आएका छन् । पौडेललाई सिईओ बनाएको विषयमै उनीहरुले असन्तुष्टि जनाएपनि नियामक निकायले छानबिनपछि उनलाई क्लिन चिट दिइसकेको छ । तरपनि सिईओ पौडेलको योग्यता र अनुभवको छानविन गरेर कारबाहीको माग गर्न उनीहरुले छाडेका छैनन् ।

पौडेलको योग्यताको विषयमा बिमा समितिले यसअघि नै छानविन गरी सम्बन्धित निकायमा छानविन प्रतिवेदन बुझाइसकेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विभिन्न ठाउँबाट सिईओको योग्यताको छानविन गर्न पत्र आएको र सोही बमोजिम आफूहरुले छानबिन गरेर प्रतिवेदन सम्बन्धित निकायलाई बुझाएको बताए । उनले छानबिनबाट उनको योग्यता पुगेको देखिएको स्पष्ट पारे ।

पौडेलले भने, ‘उहाँको सर्टिफिकेटसम्म राखेर सम्बन्धित निकायमा पठाएका छौँ । हामीले हेर्ने भनेको सिईओको योग्यता पुगेको छ की छैन भनेर हेर्ने हो । सिईओ छान्ने सञ्चालकले हो हामीले होइन । हाम्रो अध्ययनले उनको योग्यता पुगेको देखिएको छ ।’

‘उजुरी परेर छानविन नभएको होइन छानीबन भएको छ र निर्णयमा पनि पुगिसकेको छ,’ उनले भने ।
बिमा दाबी र भुक्तानीमा पटक पटक विवादमा आउने युनाइटेडमा यसपटक भने यस्तो विवाद देखिएको हो ।

पौडेल यसअघि डेपुटी कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो ।

के भन्छिन् पौडेल रु
पौडेलले आफ्नो योग्यता पुगेको स्पष्ट पारेकी छन् । उनले भनिन्, ‘यही विषयलाई लिएर किन पटक पटक विवाद हुन्छ मैले बुझन सकिरहेको छैन, काम गर्छु भनेर आएको छु तर आरोप लगाउँदै हिँड्छन् । काम गर भनिन्छ तर काम नगर्नेहरुले त्यसलाई दबाब ठान्छन् ।’

कामु प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन् । उनीसँग भारतको आईसीआइसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ । उनी आईसीआईसीआईमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन् । त्यसपछि उनले अर्को एक इन्स्योरेन्स कम्पनीमा पनि काम गरेकी थिइन् ।
उनले भनिन्, ‘अनुभवको कुरा गर्नुहुन्छ भने मैले भारतमै २÷३ वर्ष काम गरेको हुँ । नेपालमा पनि काम गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार