राष्ट्रिय महिला फुटबल लिग : आर्मी र पुलिस क्लबको गोलरहित बराबरी

खेलकूद

काठमाडौं । बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा दुबै टोलीले गोल गर्ने राम्रा अवसरहरु पाए पनि सदुपयोग गर्न चुकेका थिए । कोरोना महामारी पछि सुचारु भएको प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडी रेखा पौडेल, पुजार राना पुलिसबाट प्रतिनिधित्व गरे पनि आर्मी विरुद्ध जित निकाल्न सकेनन् ।

यस्तै पुलिसबाट नै गोलकिपर सपना राईले पनि पुलिस क्लबको प्रतिनिधित्व गरेकी छिन् । उनले यु–१९ महिला फुटबलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी थिइन् ।

विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार