एसियन सेन्ट्रल जोन भलिबल : चिन्ता पदककै

खेलकूद

काठमाडौं । यसै साता बंगलादेशमा सुरु हुने एसियन सिनियर सेन्ट्रल जोन मेन्स भलिबल च्यालेन्ज कपमा नेपालको पुरुष टिमले कम्तीमा पनि पदक छुने लक्ष्य राखेको छ । महिला टोलीले भने यसपटक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ ।

सन् २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणको सेन्ट्रल जोनमा तेस्रो हुँदै ऐतिहासिक पदक जितेको पुरुष टोलीले त्यसपछिका दुई संस्करणमा सुखद नतिजा ल्याउन सकेन ।

कोभिड महामारीले गर्दा दुई वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको पुरुष भलिबल टोली यस पटक मेडल भित्राउने लक्ष्यसहित बंगलादेश जाँदैछ ।

बंगलादेश र माल्दिभ्सलाई हराउने लक्ष्य

मुख्य प्रशिक्षक हान अबिङको नेतृत्वमा करिब एक महिना प्रशिक्षण पश्चात नै नेपालले ठूलो प्रतियोगिता खेल्न लागेको हो । यसअघि पाँचवटै संस्करण खेलेका कप्तान इम राना मगरले दुई टिमलाई हराउन सके मेडल आउने बताए । ‘छोटो समयमा पनि राम्रै तयारी भएको छ । यस पटक टिमहरु थोरै छन् । बलियो टिम भनेका श्रीलंका र उज्वेकिस्तान हुन् । बंगलादेश, माल्दिभ्स र नेपाल उस्तै हुन् । बंगलादेश र माल्दिभ्सलाई हराए हामी एउटा मेडल छुन सक्छौं,’ आइतबार बिदाई कार्यक्रमपछि इमले भने, ‘बाँकी दुई टिम श्रीलंका र उज्वेकिस्तानसँग पहिला पनि खेलेकाले हामी राम्रो फाइट गर्छौं ।’ छोटो समयको तयारीको बाबजुत पनि नेपालले मेडल छुने सम्भावना रहेको कप्तान इमले दोहोर्याए ।

एफआईभिबीको कोचिङ सपोर्ट अन्तर्गत नेदरल्याण्ड्सबाट आएका हान अबिङले नेपाली टिमलाई प्रशिक्षण गराएका थिए । यसअघि सन् २०१९ मा नेपालमै भएको पाँचौ संस्करणमा पनि हान नेपाल आएका थिए । तर त्यसपटक नेपाल पाँचौं हुँदै कुनै मेडल जित्न सकेन ।

कप्तान इमले हान नेपालको लागि नयाँ कोच नभएको बताउँदै यस्ता खालको कोच कम्तीमा एक वर्षका लागि ल्याउनुपर्ने बताए । उनले भने, ‘पहिला पनि आएको कोच हो, नयाँ होइन । यो लेभलको कोच ल्याउँदा भलिबल संघले पनि सोच्नुपर्ने हुन्छ । यो लेभलको कोचलाई थोरैमा पनि एक वर्षको सम्झौता गरेर ल्याए भलिबललाई राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार