पौराणिक तुलना : आमा र स्वास्नी

बिचार

bhakta-g

22

एउटा युद्ध मैदान ! एक छेउमा मणिपुरे राजा बभ्रुवान बडो गम्भीर मुद्रामा उभिएका छन् । राजाको एउटा हातमा धनुष छ भने अर्को हात तरकसमा ।  अलि पर मैदानको माझमा ‘ब्रह्माण्डका सर्वश्रेष्ठ धनुर्धर’ अर्जुनको शिर काटिएको शरीर ढलिरहेको छ । काटिएको शिरका आँखाहरु राजातिरै निर्निमेष हेरिरहेका छन् । कुरुकुलका गुरु द्रोणाचार्यले दिएको विश्वको सर्वश्रेष्ठ धनुर्धर उपाधि आज अर्जुनबाट खोसिएको छ । हुन त यो उपाधि एकलव्यले पहिल्यै खोसिदिएका हुन् ! तर, द्रोणाचार्यले ‘गुरुदक्षीणा’को नाममा एकलव्यको बुढीऔंठो कटाएर भए पनि  आफ्नो महत्वाकांक्षी घोषणालाई सफल पारेका थिए ।  आज अर्जुनको उपाधिमात्र होइन, ज्यान नै गइसकेको छ । उनको ज्यान लिने अरु कोही नभएर आफ्नै पुत्र बभ्रुवान थिए । पिताको शिरछेदन गरी विजयीमुद्रामा राजा बभ्रुवान युद्धमैदानमा उभिएका छन् !

कुरुक्षेत्रको युद्धमा कर्ण, कृप, द्रोण, शकुनी, भीष्म, जरासन्ध, दुर्योधन, शाल्वजस्ता गदाधर/धनुर्धरबाट पनि नमारिएका अर्जुन आज आफ्नै छोराद्वारा चलाइएको वाणले मारिएका छन् । यी सब कुरा सम्झिँदै अर्जुनको नीर्जिव शवमाथि छाँद हालेर कुन्ति विलाप-रोदन गरिरहेकी छिन् ।

युद्धमैदानको अर्को एकछेउमा देवी गंगा खित्खिताएर हाँसिएरहेकी छिन् । उनी बोल्दै पनि छिन् । उनका केही शब्दहरु बुझिन्छन्, केही बुझिँदैनन् ! बुझिएका शब्दहरुमा उनी भन्दैछिन्; ‘कुरुक्षेत्रको युद्धमैदानमा मेरो छोरो देवब्रत (भीष्म) लाई अर्जुनले निर्ममतापूर्वक मारेको थियो । आफ्नो अगाडि शिखण्डीको च्याँखे थापेर भीष्मलाई हतियारविहीन अवस्थामा हुँदा मार्ने यही अर्जुन हो ! वाणको शैयामा ढलेर कैयौंदिनसम्म भोको-प्यासो मेरो छोरो अर्धजीवित भइरहँदा म कति छट्पटाएकी थिएँ; कति रोएकी थिएँ ! त्योबेला म रोएकी कसैले देख्यो ?

गंगा अलि चर्किएर बोल्दा धेरै शब्दहरु बुझिन्थे । उनी भन्दैथिइन्- मेरो छोरो भीष्मले मर्न पनि प्रतीक्षा गर्नुपरेको थियो । आज अर्जुनले आफ्नो मृत्युको त्यति लामो प्रतीक्षा गर्नपरेन । किन रुन्छौ कुन्ति ? सुखैसँग अर्जुनले देहत्याग गर्न पाएको छ ! उसको यो सहज मृत्युवरणमा बरू तिमी खुशी हुनुपर्छ !

आफ्नो पुत्रको मृत्युशोकमा यसरी खित्खिताएर हाँस्ने गंगाप्रति रुष्ट हुँदै कुन्ति बोल्न थालिन्-हे गंगेः तिम्रा पुत्र भीष्म दम्भी थिए, कठोर थिए ! उनीभित्र मानवीय संवेदना र आत्मीयताभन्दा दरवारिया वंशको रक्षा ठूलो कुरा थियो । जोसुकैलाई दमन गरेर, अपहरण गरेर पनि हस्तिनापुर दरवारको रक्षा गर्नु भीष्मको एउटैमात्र आजीवन लक्ष्य थियो । भीष्मले के गरेनन् रः गान्धारीलाई अपहरण गरेर अन्धा धृतराष्ट्रसित जबरजस्ती बिहे गराए । काशीका राजकुमारीहरु अम्बा, अम्बिका र अम्बालिकालाई बलजफ्ती अपहरण गरेर आफ्ना भाइहरुसित बिहे गरिदिन भनेर हस्तिनापुर ल्याए । बिचित्रवीर्यसित दुइ राजकुमारीको विवाह भयो तर, अम्बालाई भीष्मले फिर्ता गराइदिए । भीष्मको अपहरणबाट मुक्त भएकी अम्बालाई कसैले स्वीकारेन ।

त्यसपछि अम्बा हस्तिनापुर फर्केर भीष्मले नै आफूलाई पत्नी स्वीकार्न अनुरोध गरिन् । तर, हस्तिनापुरको अस्तित्वका अगाडि अम्बाको अस्मिता भीष्मका लागि एउटा तुच्छ प्राणीको अरण्यरोदनझैं बन्यो । भीष्मको त्यो हठ देखी प्रतिशोध साधन गर्न अम्बा नै शिखण्डी बनेर कुरुक्षेत्रमा आएकी थिइन् । शिखण्डीले गरेको भीष्महत्यालाई अर्जुनमाथि किन आरोपित गर्दैछौ गंगा ?  मेरो पुत्र अर्जुन त कुरुक्षेत्रमा उसलाई मार्न भनेर उभिएका शत्रुहरुलाई पनि परिवारका बुजुर्ग, नातागोता र अग्रजहरु ठानेर उनीहरुका विरुद्ध युद्ध नगर्ने संकल्प लिइरहेको थियो । गंगेः यसरी तिमी मेरो पुत्रको मृत्युमा किन रमाउँदैछौ ? आखिर तिमीमा मातृहृदय नै छैन कि ?

कुन्तिका कुरा सुनेपछि रन्थनिँदै गंगा  बोलिन्- तिमी कुन गतिली हौ र ? अविवाहित छँदै सूर्यबाट वीर्यदान लिएर जन्माएको छोरो कर्ण तिमीले जिउँदै खोलामा बगाएकी हैनौ र ? पछि  कुरुक्षेत्रमा कि अर्जुन कि त कर्णमध्ये एउटामात्र पुत्र छान्ने विकल्प पाउँदा पनि तिमीले चित्त बुझाएकै हौ ! अहिले किन रुन्छौ कुन्ति ? अर्जुनको ठाउँमा कर्ण बाँचेको भए पनि तिमी यसरी नै रुन्थ्यौ त ?

गंगाले कर्णको रहस्यबारे बोलेपछि कुन्ति पनि के कमः छारष्ट गर्दै बोलिन्-तिमीले राजा सन्तनुसित विवाह गरी जन्माएका अबोध सातवटा पुत्रलाई लाँदै खोलामा बगाउँदै गरेकी हौ कि हैनौ? तिमीले राखेको शर्तअनुसार राजाले तिमीलाई नरोक्नु हो भने भीष्मलाई पनि बगाउनै भनेर तिमी दरबारबाट बाटो लागेकी थियौ ! त्योबेलै बगाएकी भए भीष्मले ठूलो भएर उनको नपुंषक भतिजो पाण्डुसित छलपूर्वक मेरो बिहे गराउने थिएनन् ! त्यसरी छलपूर्वक पाण्डुसित बिहे नभएको भए मैले यम, वायु र इन्द्रसित ऋतुदान मागेर गर्भाधान गर्नुपर्ने थिएन ! कुरुक्षेत्रको बीभत्स युद्ध नै भीष्मको कारण भएको हो ! यदि उनले चाहेका भए धृतराष्ट्र, दुर्योधन, कर्ण, शकुनी सबैलाई रोक्न सक्थे ! तर, दुष्ट कौरवहरुकै पक्षबाट सेनापति बनेर उनी युद्धमैदानमा आए ! युद्धमा विपरीत पक्षबाट आइलागेपछि जसले जसलाई पनि माऱ्यो ! आज यहाँ त आफ्नै पुत्रले पितालाई मार्दैछ अनि तिमी बेस्सरी हाँसेकी छौ, एउटा कुटिल हाँसो जो अति घृणित छ !

कुन्ति धेरै बोल्थिन् शायद ! तर, गंगालाई खपी नसक्नु भएछ क्यार, बीचैमा कुन्तिलाई आवाजले उछिनेर बोल्न थालिन्-अनि आज यहाँचाहिं के भएको त ? आफ्नो बाबु आएको थाहा पाएर स्वागत गर्न निस्किएको बभ्रुवानलाई युद्धका लागि उत्तेजित पार्ने अर्जुन नै थियो । बभ्रुवानले युद्ध गर्न नमान्दा अनेक गाली-गलौज गरेर लाञ्छित आरोप लगाउने अर्जुन नै थियो । कुरुक्षेत्रमा युद्ध जितेको खुशीमा हो कि आफ्नै पारिवारिक मारकाटमा थिल्थिलिएको चेतनालाई शान्त गराउन युद्धिष्ठिरले अश्वमेध यज्ञ गरेका थिए ! अनि निधारमा जयपत्र बाँधेर यज्ञबाट छोडेको घोडाको चौकसी गर्न अर्जुनलाई खटाइएको थियो ! सेनाको दलबल लिएर घोडाको पछि पछि लागेको अर्जुन चौदिशाका राजाहरुलाई हस्तिनापुरको अधीन स्वीकार गराउँदै हिँडेको थियो ! बभ्रुवानले घोडा रोकेर आफ्नो बाबु अर्जुनसित शालीनतापूर्वक वार्ता गर्न खोज्दा उसैमाथि अर्जुन जाइलाग्यो ! बभ्रुवानले अर्जुनसितको युद्धमा सफलताका लागि मलाई नै आह्वान गरेको थियो । मैले नै कामक्षा देवीमार्फत पठाएको वाण हानेर उसले अर्जुनको शिरछेदन गरेको हो ! मर्नुपर्थ्यो अर्जुन मऱ्यो ! तिमी रुनु व्यर्थ छ ।

यस्तैमा द्वारिकाबाट कृष्ण आइपुगे । हस्तिनापुरबाट उलुपी पनि कृष्णको साथ लागेर आइपुगिन् ! उलुपी अर्जुनका चार पत्नीमध्ये एक थिइन् ! साझा पत्नी द्रौपदी, बभ्रुवानकी आमा चित्रांगदा, नागकन्या उलुपी र कुन्तिकै भदैनी सुभद्रासँग अर्जुनले बिहे गरेका थिए । धेरै पत्नी भएका कारण एक्लो अर्जुनसितको निकटताका लागि एकार्कामा द्वन्द चल्नु स्वाभाविक थियो । तर, यहाँ सौता-सौताबीचको विद्रोहमा अर्जुन मारिएको होइन ! हस्तिनापुरको अधीन स्वीकृत गराउन हिँडेको अर्जुन मारिएका हुन् । उनलाई अर्को कुनै एउटा देशको राजाले उसको शासकीय घमण्ड चूर-चूर गराउँदै मारेको हो । यसै त अर्जुनले युद्धमा वीरगति प्राप्त गरेका हुन् । शहीद भएका हुन् । शासकीय आदर्श अनुसार अर्जुनले यो संसारको भवसागरबाट मुक्ति पाएका हुन् । तर, सशरीर स्वर्ग जाउँला भनेर गरेको प्रतिज्ञा अपुरो रहने भयो । मरणोप्रान्त अर्जुनको प्रतिज्ञा पूरा गराउनलाई मात्र भए पनि उनलाई पुनःजीवित गराउनुपर्दछ । उनलाई जीवनदान दिएर पुनर्जीवित गर्न कृष्णले बभ्रुवानसित अनुरोध गरे । बभ्रुवानले सहजै स्वीकारे । किनभने उनले अर्जुनलाई मार्न चाहेका थिएनन्; मणिपुरको रक्षाका लागि युद्ध जित्नमात्र चाहेका थिए । कृष्णको अगुवाइमा सशरीर स्वर्ग जाने उद्देश्यका लागि तोक लगाएर अर्जुनलाई पुनर्जीवित गरिने निर्णय त भयो तर, त्यसो गर्ने उपाय उलुपीबाहेक कोहीसित थिएन । सबै चकमन्न, चारैतिर शून्य-शून्य !

कृष्णले पुलुक्क उलुपीतिर हेरे । रोदनमिश्रित मुहारमा उलुपीले आफ्नो माइतबाट दाइजोस्वरूप बोकेकी नागमणि कृष्णलाई सुम्पिइन् ! नागमणि पखालेको जलधारा छर्केर अर्जुनको काटिएको शिर जोडियो ।

उनी पुनर्जीवित भए ! उठेर उनले आफ्नी माता कुन्ति, मावली दाजु, गुरु तथा सारथी कृष्ण, जिजुमा गंगा, पुत्र बभ्रुवान कतैतिर पनि नहेरी पत्नी उलुपीसमक्ष जम्ले हात गरेर नतमस्तक भए । यत्राविधि मान्यजन र अग्रजहरु उपस्थित भएका ठाउँमा अरुलाई हेर्दै नहेरी आफ्नी स्वास्नीप्रति किन यसरी नतमस्तक भयौ अर्जुन? कृष्णले उनलाई सोधे । अर्जुन बोले-“मेरा लागि उलुपीबाहेक सबै कि असक्षम कि त स्वार्थी ठहरिए ! सक्षम भए उनीहरुले मलाई मारिनबाट जोगाउँथे, मरेपछि बँचाउन सक्थे । स्वार्थरहित भए आमा कुन्ति र गंगा यसरी चर्चरी बाँझ्न छोडेर अन्य उपायहरु सोच्न सक्थे । तर त्यसो गरेनन् । चारवटी पत्नी भएको म, मृत्युबाट बौरिएर उलुपीसित नगई अरुतिर जान सक्थें । तर, उलुपीले त्यो संशय नलिई मलाई बँचाउने प्रण गरिन् ! यसैले म उलुपीप्रति नतमस्तक छु !”

त्यसपछि समाजमा एउटा आदर्श स्थापित भयो-पुरुषका लागि सांसारिक जीवनमा आमा-बाबु, भाइ-बन्धु, कुल-कुटुम्ब, नाता-गोता सबैभन्दा निकट एउटी नारी जसलाई समाज साक्षी राखेर उसले पतित्व ग्रहण गरायो अथवा आफूले पत्नीत्व ग्रहण गऱ्यो !

पाठकहरुलाई यो कथा पढिरहँदा, धेरै कथ्यजस्तो. थोरै किस्साजस्तो लाग्नसक्छ । हुनपनि यो किंवदन्ती नै हो । तर, कथ्य, किस्सा र किंवदन्तीहरु पनि समाजले आफ्नै प्रयोजनका लागि उत्पन्न गरेको हो । यो समाजको अभ्यासले निर्धारण गरेको व्यावहारिक यथार्थ पनि हो ! पढ्नुभयो भने पढिसकेपछि शालीनतापूर्वक, पुष्ट प्रतिक्रिया दिन नभुल्नुहोला !

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार