चलचित्र विकास बोर्ड अध्यक्षमा दाहाल

कला/ साहित्य

Board ma dayaram dahal

काठमाडौं । ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्ति गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालीन अध्यक्ष केशव भट्टराइको निधनपश्चात् बोर्ड नेतृत्वविहिन भएको थियो । नवनियुक्त अध्यक्ष दाहालले दुई वर्ष चलचित्र विकास बोर्डको नेतृत्व गर्नेछन् । बोर्डको सदस्यसमेत रहेका दाहालले विषम परिस्थितिमा नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । नेपाली चलचित्र उद्योगमा लामो समयदेखि सक्रिय उनले चलचित्र क्षेत्रको हितमा काम गर्ने जनाएका छन् ।

बोर्डको अध्यक्षका लागि आव्हान गरिएको सूचनापछि १० जनाको आवेदन परेको थियो । जसमा, तीन जनाको नाम सिफारिस गरिएको थियो । जसमा संस्कृतिकर्मी राजेश थापा, अभिनेता भुवन केसी र निर्देशक दयाराम दाहालको नाम रहेको थियो । दाहालले रानी, दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै बिग्रिस नि बद्रि, भरिया, दाइजो, जेठो कान्छो, अग्नि ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमीविना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र विकास बोर्डले चलचित्रक क्षेत्रका लागि खासै काम गर्न सकेको छैन । यस क्षेत्रको काम गर्न बोर्डलाई स्वायत्त संस्थाका रुपमा विकास गरिनुपर्ने माग उठ्दै आएको छ । नवनियुक्त अध्यक्ष दाहाललाई बक्स अफिस कार्यान्वयन तथा कोरोना भाइरसका कारण धरासायी बनेको चलचित्र उद्योगलाई उठाउनुपर्ने चुनौती पनि थपिएको छ । त्यस्तै, हल सञ्चालक, निर्माता, प्राविधिक, कलाकार आदिका गुनासालाई संबोधन गर्नुपर्ने चुनौती छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार