कोरोना संक्रमण भएर ज्यान गुमाउने पर्सा जिल्लामा मात्र १३ जना पुगे

ब्यानर

काठमाडौं । पर्सामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । योसहित पर्सामा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या १३ पुगेको छ । ज्यान गुमाउनेमा सामान्य नागरिकदेखि उद्योगका सिइओसम्म रहेका छन् । यस्तै यही अवधिमा ४१ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सक्रमितमा नारायणी अस्पतालमा कार्यरत दुईसहित तीन जना चिकित्सक छन् । यस्तै नारायणी र एडभान्स हस्पिटलका ६ जना स्टाफ नर्समा पनि संक्रमण देखिएको छ । वीरगञ्जको विभिन्न वडामा मास टेस्टीङ गराएका केही सर्वसधरणमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पतालमा नियमित डाइलासिस गराउने तीन जना बिरामीमा पनि संक्रमण देखिएको छ ।

पर्सा जिल्लामा सुरुदेखि अहिलेसम्मको अवधिमा ३९८ जनामा संक्रमण पुष्टि भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । अहिलेसम्म सक्रमित हुनेमा १५ जना भारतीय सहित, ३९ जना स्वास्थ्यकर्मी, ८ जना सुरक्षााकर्मी, २ जना पत्रकार, २ जना एम्बुलेन्स चालक, ८ जना अस्पताल सफाइकर्मी र १५ जना कैदी र थुनुवा रहेका पनि उनले जानकारी दिए ।

यस्तै पर्सा जिल्लामा १० हजार ४ सय १३ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको बताउँदै उनले धेरैको परीक्षण नतिजा पनि आइसकेको बताए । संकलित स्वाब मध्ये अब १ हजार १ सय १९ जनाको परीक्षण नतिजा भने आउने क्रममा रहेको पनि उनले जानकारी दिए ।

संक्रमित थपिने क्रम बढेसँगै अस्पतालमा राख्ने बेड नहुँदा अहिले झण्डै १ सय संक्रमितहरु होम आइसोलेटेड भएर बस्नु परेको छ । कोरोना संक्रमणको अवस्था विग्रदै गएको र संक्रमितलाई राख्ने अस्पताल अभाव हुन थालेपछि एक सय बेड क्षमता रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटललाई पनि कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको बस्नेतले जानकारी दिए ।

अहिले ५० वेड क्षमताको गण्डक अस्पताल संक्रमितले भरिएको छ । वीरगञ्ज हेल्थ केयरलाई आज भोलीमै कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए । साथै अहिले कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको र निषेधाज्ञा पनि जारी रहेकाले निषेधाज्ञाको पालना गर्दै अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन पनि सहायक प्रमुख जिल्ला अधिकारी बस्नेले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार