पर्सामा कोरोनाले दैनिक ज्यान लिंदैं, शनिबार पनि एकको मृत्यु

समाचार

काठमाडौं । पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाभाइरस ९कोभिड १९० संक्रमणका कारण मृत्यु भएको छ ।

ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

शुक्रबार राति आएको रिपोर्टमा ६४ जनामा संक्रमण देखिएको र त्यसमध्ये बयोधामा निधन भएकी महिलामा पनि संक्रमण रहेको पुष्टि भएको सिंहले बताए ।

शुक्रबार बिहान मृत्यु भएकी महिलाको शव अहिलेसम्म पनि अस्पतालमा नै रहेको छ । उनको शवको व्यवस्थापन गर्ने तयारी भएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार