एलन मस्कको भयो ट्वीटर, ४४ अर्ब डलरमा बिक्रि भयो कम्पनी

विज्ञान प्रविधि

elon_musk_t9e24n5ayj

 

एजेन्सी । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ । मस्कले दुई हप्ता अघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए ।

ट्वीटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।

मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’

यस सम्झौतासँगै सार्वजनिक रुपमा कारोबार गर्ने कम्पनी ट्वीटर अब मस्कको स्वामित्वमा रहेको नीजि कम्पनी हुनेछ । ट्वीटरले दिएको जानकारी अनुसार कम्पनीको मूल्य ५४।२० डलर प्रति सेयरको हिसाबले लगाइएको छ जुन कुल ४४ अर्ब डलर हुनेछ । कम्पनीले अब सेयरधनीहरुलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ ।

कम्पनीका सिइओ पराग अग्रवालले एउटा ट्वीटमा भने, ‘ट्वीटरको एउटा उद्देश्य र सान्दर्भिकता छ जसले पूरा विश्वलाई प्रभावित पार्ने गर्छ । हामीलाई हाम्रो टिममाथि गहिरो गर्व छ र हामी पहिले भन्दा धेरै महत्वपूर्ण कुरा गर्न प्रेरित छौँ ।’

फोब्र्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३।६ बिलियन डलर छ । उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण हो । उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार