स्पेस स्टेशनबाट अलग हुने रुसको घोषणा

विज्ञान प्रविधि

space-station

एजेन्सी । युक्रेनमाथि हमला गरेसँगै रुस विरुद्ध अमेरिका, युरोपेली युनियन लगायतले कडा प्रतिबन्ध लगाइरहेका छन् ।

पश्चिमा मुलुकहरुबाट प्रतिबन्धको सामना गरिरहनु परेपछि रुसले अन्ततः अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट अलग हुने घोषणा गरेको छ । आगामी दुईरतीन वर्षमा स्पेस स्टेसनबाट अलग हुने रुसले जनाएको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार रुसी स्पेस एजेन्सी रोसकोमसका महानिर्देशक दिमित्री रोगोजिनले यस्तो घोषणा गरेका हुन् । पहिले नै यस्तो निर्णय गरिएको र यस विषयमा सार्वजनिक रुपमा कुरा गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

यद्यपि स्पेस स्टेसनमा रुसको सहभागिता ठ्याक्कै कहिले अन्त्य हुन्छ भन्ने चाहिं उनले खुलाएका छैनन् । यद्यपि छाड्नु अगाडि कम्तीमा १ वर्षको सूचना दिइने उनले बताएका छन् ।

२०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा आफ्नो सहभागितालाई अगाडि बढाउन रुस कहिल्यै पनि सहमत नरहेको विश्लेषकहरुले बताउँदै आएका थिए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा तथा स्पेस स्टेशनमा सहभागी अन्य मुलुकका स्पेस एजेन्सीहरुले पनि यो स्टेशनलाई २०३० सम्म चालु राख्नुपर्ने बताउँदै आएका छन् ।

हुन त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट तथा अनुभवी नेता रोगोजिनले यसअघि पनि यस्ता धम्कीपूर्ण अभिव्यक्ति दिंदै आएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दिन २४ फेब्रुअरीमा उनले एक ट्वीट गर्दै अमेरिकाले रुसमाथि कुनै प्रतिबन्ध लगाएमा स्पेस स्टेशन सञ्चालनका लागि भैरहेको नासा र रोसकोमसबीचको सहकार्य भंग हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार