नासाले अष्ट्रेलियाबाट उडायो रकेट, ब्रम्हान्डको रहश्य खोल्ने

विज्ञान प्रविधि

nasa

एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक अमेरिकाभन्दा बाहिर अवस्थित एउटा व्यावसायिक स्पेसपोर्टबाट रकेट प्रक्षेपण गरेको छ। स्थानीय समयानुसार सोमवार बिहान अस्ट्रेलियाको उत्तरी भेगमा रहेको एर्न्हम स्पेस सेन्टरबाट उक्त रकेट उडेको थियो।

यो उडानले दक्षिणी गोलार्धबाट मात्रै गर्न सम्भव रहेको एस्ट्रोफिजिक्स अध्ययनका लागि ढोका खोलेको नासाले जनाएको छ। अस्ट्रेलियामा २५ वर्षमा गरिएको यो नै पहिलो रकेट प्रक्षेपण भएको बताइएको छ। भर्खरै निर्माण सम्पन्न भएको एर्न्हम स्पेस सेन्टरबाट योसहित तीनवटा रकेट प्रक्षेपण गरिएको थियो।

यो रकेटले नजिकै रहेका ग्रहलाई कुनै ताराको प्रकाशले आवासयोग्य बनाउनेगरी कस्तो प्रभाव पार्न सक्छ भनेर अध्ययन गर्न सघाउने वैज्ञानिकहरूको अपेक्षा छ। रकेट प्रक्षेपण गरिएको केन्द्र पुगेका सर्वसाधारणहरूले उक्त रकेट पृथ्वीको वायुमण्डल प्रवेश गर्नुअघि १० सेकेन्ड मात्रै देख्न पाएका थिए।

‘सबै कुरा अत्यन्तै छिटो भयो। तर मलाई भने त्यो प्रक्रिया निकै सुस्त गतिमा भए जस्तो भयो किनभने पूरै क्षेत्र नै उज्यालो भएको थियो,’ यिर्कला विद्यालयकी सहप्रधानाध्यापिका मिर्कियावुय गानाम्बार–स्टब्सले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनलाई भनिन्।

उक्त रकेटको अन्तरिक्षयात्रा पनि छोटो नै रह्यो। तेह्र मिटर लामो उक्त रकेट पूर्वनिर्धारित समयानुसार १५ मिनेटपछि पृथ्वीमा झर्‍यो। तर सो अवधिमा सङ्कलित डेटाले ब्रह्माण्डमा ४३ करोड प्रकाशवर्ष टाढा रहेका नक्षत्रहरूको रहस्योद्गघाटन गर्न सहयोग गर्ने विश्वास विज्ञहरूले व्यक्त गरेका छन्।

‘विज्ञानको कुरामा गहिराइमा नगई भन्नुपर्दा यो एउटा ठूलो एक्स–रे क्यामरा हो जसले खगोलशास्‍त्रसम्बन्धी थुप्रै घटना नियाल्दै आकाशगङ्गामा रहेका चट्टान, खासगरी अल्फा सेन्टाउरी ताराको समूह छोप्ने प्रयास गर्छ,’ एर्न्हम स्पेस सेन्टरकाका कार्यकारी प्रमुखले लोकल नेटवर्क लाइनलाई भने।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार