अन्ततः नयाँ गठबन्धनले जुटायो बहुमत

banner

काठमाडौं, २४ माघ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल (प्रचण्ड) ले अन्तत ः सरकारका बचाउनका लागि आवश्यक बहुमत जुटाएका छन् । संसदीय व्यवस्थामा प्रधानमन्त्रीसंग सधै संसदको महुमत सदस्यको समर्थन रहनु पर्ने हुन्छ । प्रधानमन्त्रीले बहुमतको जोहो नै नगरी नयाँ गठबन्धन बनाएकाले सरकारको भविश्य अनिश्चितजस्तै भएको थियो ।

नेकपा(एकीकृत समाजवादी) ले सरकारमा जाने निर्णय गरेसंगै नयाँ गठबन्धनले प्रतिनिधि सभामा बहुमत सिद्ध गर्ने सक्ने भएको हो । एकीकृत समाजवादी दुई मन्त्रालयसहित नयाँ सरकारमा सहभागि हुने भएको हो । यति हुँदा पनि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले आफ्नो अडान स्पष्ट गरेका छैनन् ।

उपेन्द्र यादवले नयाँ गठबन्धन बनाउँदा आठ बुँदे सहमतिमा हस्ताक्षर गरे पनि पार्टीभित्र उनको आलोचना भएकाले तत्काल सरकारमा सहभागि नहुने भएका छन् । जसपा र जनमत पार्टी दुवैले मधेश प्रदेशको मुख्यमन्त्रीलाई समर्थनको बटमलाइन बनाएका छन् भने नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्री ताकेको छ । सुदूरपश्चिमको मुख्यमन्त्री नपाए नयाँ गठबन्धनमा नजाने नाउपाको स्पष्ट अडान छ ।

जसपा सरकारमा सहभागि नभए पनि आठ बुँदेमा हस्ताक्षर गरेकाले सरकारलाई उसको समर्थन रहने बताइएको छ । हुनत नाउपा, जनमत, जसपा, लोसपाले समर्थन नगरे पनि प्रचण्ड सरकारलाई आवश्यक बहुमत भने पुग्ने देखिएको छ ।

एमालेको संसद सदस्य संख्या ७९ हो । यसमा सुभाष नेम्वाङको मृत्यु भएको, टोपबहादुर रायमाझी निलम्वनमा रहेकाले ७७ सदस्य छन्, त्यसमा पनि सभामुखले मत बराबर भएको अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले मतदान गर्न पाउनेको संख्या ७६ हुन्छ । एमाले ७६, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २१, एकीकृत समाजवादी १० जोडदा एक सय ३९ हुन्छ, जुन दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको सामान्य बहुमत हो ।

यस्तो छ मन्त्रालयको भागवण्डा
सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । यस्तै पदम गिरी कानुन न्याय तथा संसदीय मामिला मन्त्री, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी भएका छन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन् ।

यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी भएका छन् । सो पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार