एजेन्सी ५ वैशाख । मङ्गल ग्रहमा पहिला कुनै बेला जीवको अस्तित्व थियो कि भनेर हेर्न त्यहाँ सङ्कलित पत्थरका नमुनाहरू पृथ्वीमा ल्याउने प्रयासमा ठूलो परिमार्जन गर्नुपर्ने देखिएको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार अहिले जारी अभियानले आफूसँग भएको आर्थिक स्रोतको भरमा सन् २०४० अघि ती नमुनाहरू ल्याउन नसक्ने जनाएको छ। अनि चाँडै ल्याउन आवश्यक ११ अर्ब अमेरिकी डलर उपलब्ध गराउनु व्यावहारिक नहुने उसको भनाइ छ।
नासाले अझ सस्तो र चाँडो हुने विकल्पबारे सोचिरहेको छ। उसले नयाँ उपायको खाका यो वर्षभित्रै बनिसक्ने अपेक्षा राखेको छ। ग्रह अन्वेषणको काममा मङ्गल ग्रहबाट नमुना ल्याउनु दशकौँदेखि एकमात्र र सर्वाधिक महत्त्वको प्राथमिकता रहँदै आएको छ।
अपोलो अभियानका अन्तरिक्षयात्रीले चन्द्रमाबाट पत्थरहरू ल्याएपछि प्रारम्भिक सौर्यमण्डलको इतिहासबारे हाम्रो ज्ञानमा क्रान्ति आएको थियो। मङ्गल ग्रहबाट ल्याइने नमुनाले पृथ्वीबाहिर जीवहरू अस्तित्वमा भएको सम्भावनाबारे हाम्रो धारणामा पुनर्विचार गर्न सघाउने ठानिएको छ।