
बर्दिवास, २७ पुस । बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलले आफ्नो १६ औं वार्षिकोत्सव भिन्न ढंगले मनाएको छ । यो हस्पिटलले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर वर्षिकोत्सव मनाउँदै आएको छ ।
यस पटक विशेषगरी स्वास्थ्य क्षेत्रसंग सम्वन्धित व्यक्ति तथा संस्थालाई मात्र राखेर उसले भिन्न ढंगले यो वार्षिकोत्सव मनाएको हो । विगतमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई निमन्त्रणा दिएर सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउने गरेको यो हस्पिटलले यसपटक भने स्वास्थ्य क्षेत्रका मानिसलाई मात्र सहभागिता गराएको हो ।

बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता हस्पिटलका कार्यकारी निर्देशक दीपक कार्कीस्वयंले गरेका थिए । प्रमुख अतिथि नगरपालिकाका स्वास्थ्य विभागका प्रमुखलाई बताइए पनि पानसमा बत्ति वालेर उद्घाटन तथा केक काटेर उद्घाटन गर्ने काम हस्पिटलका संरक्षक तथा कार्यकारी निर्देशकका मातापिता विष्णुबहादुर कार्की दम्पतीका हातबाट सम्पन्न भएको थियो । कार्यक्रको सञ्चालन भने नर्सिङ्गकी विद्यार्थी नमुना घिमिरेले उत्कृष्ट ढंगले गरेकी थिइन ।
स्वास्थ्य जाँच उपकरणमा मधेश प्रदेशकै सम्पन्न मध्येमा पर्ने १०० शैय्याको शुभस्वस्तिक हस्पिटलले बार्षिक सरदर १६ हजारबढीलाई स्वास्थ्य सेवा दिएको सो अवसरमा तथ्यांक प्रतुत गरिएको थियो । प्रशुती सेवामा नमुना प्रदर्शन गरिरहेको यो हस्पिटलले निकट भविश्यमा फिजियोथेरापी सेवासमेत सुरु गर्ने तयारी गरेको बताइएको छ ।
