कुकुरको दिसा सोहोर्ने कामले वर्षकै ४५ लाख आम्दानी !

रोचक समाचार

एजेन्सी, २२ माघ । बेलायतमा कुकुरको दिसा सोहोर्ने कामबाट मनग्ने आम्दानी गरिरहेका छन् एक युवकले ।

ती युवाले यही कामबाट वर्षमा ४५ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेका छन्। न्युयोर्क पोस्टका अनुसार ३९ वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिसा उठाउने काम गरेर मालामाल बनिरहेका छन् ।

उनले अमेरिकामा कुकुरको दिसा संकलन गर्ने व्यवसाय अत्यन्त लोकप्रिय रहेको कुरा थाहा पाए । त्यसपछि ‘पेट पू पिक’ अर्थात् कुकुरको दिसा उठाउने काम सुरु गर्ने सोच बनाए ।

त्यसपछि उनले बेलायतको इस्ट मिडल्यान्ड्स क्षेत्रमा यस्तै व्यवसाय सुरु गरेर हेर्ने निर्णय गरे । बेलायतमा यस किसिमको काम गर्ने मानिसहरू निकै कम देखिएकाले उनले फेसबुकमार्फत विज्ञापन दिए । त्यसपछि केही समयमै ग्राहकहरू सम्पर्कमा आउन थाले र व्यवसाय विस्तार हुन थाल्यो । अपेक्षा भन्दा धेरै छिटो र धेरै ग्राहकहरू आउन थालेपछि उनी आफैँ अचम्मित भए ।

अहिले उनीसँग ३५ जना नियमित ग्राहक छन्। उनका अनुसार, उनी बुधबार १५ जना र शनिबार २० जना ग्राहकलाई सेवा दिन्छन् । पहिलो भेटमा उनले ४० डलर लिन्छन् भने त्यसपछि हरेक हप्ता २० डलर शुल्क तोकिएको छ । अतिरिक्त आम्दानीका लागि कुकुरको दिसा उठाउने उक्त पार्ट–टाइम काम निकै लाभदायक साबित भएको उनी बताउँछन् ।

उनले कुकुरको दिसा उठाउने कामबाट प्रतिहप्ता करिब २ हजार ६८० अमेरिकी डलर कमाउँछन् । उनी हप्तामा करिब १२ घण्टा यस्तो काम गर्छन् । हाल यो उनको अतिरिक्त पेशाका रूपमा काम गरिरहेका छन् । भविष्यमा यसलाई पूर्ण व्यवसायका रूपमा विस्तार गर्ने योजना रहेको उनले बताए ।

सरी कुकुरको दिसा संकलन गरेपछि त्यसलाई सुरक्षित रूपमा फाल्नका लागि करिब ५० माइलसम्म यात्रा गर्नुपर्छ । त्यसपछि प्रयोग गरिएका उपकरणहरूलाई राम्ररी कीटाणुरहित बनाइन्छ, ताकि कुनै गन्ध वा दाग बाँकी नरहोस् । उनका अनुसार, दिनको करिब चार घण्टा गाडी चलाउन र तीन घण्टा प्रत्यक्ष सफाइमा खर्च हुन्छ ।

उनका आधाभन्दा बढी ग्राहक वृद्ध वा शारीरिक रूपमा कमजोर रहेका छन् । धेरैजसो ग्राहक बैशाखीको सहारामा हिँड्ने भएकाले उनीहरू आफैंले सफा गर्न सक्दैनन् । त्यस्ता मानिस‍ले घरमा पालेको कुकुरका लागि न्यूभीले सेवा प्रदान गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार