के अब सप्रियला एमाले ? एमाले सपार्न के गर्नु पर्ला ?

banner

फागुन २१ मा भएको निर्वाचनले अत्याधिक संकुचनमा परेको नेकपा(एमाले) अब भने केही सप्रीयला कि भन्ने आश कार्यकर्तामा पलाएको देखिन्छ । किनभने भित्रभित्रै पन्पिएको र भूसको आगो झै सल्किएको यो पार्टीभित्रको घाउ अब सतहमा देखिन थालेको छ ।

संसदीय दलको नेता चयनमा भएको सिद्धान्त विपरीतको निषेधको राजनीति र संसदमा सो दलका नेता तथा पार्टीका उपाध्यक्ष रामबहादुर थापा (बादल)ल बोलेका कुराको विरोध सतहमै आएको छ । दलको नेता चयनमा देखिएको विदृुप नाटकका विरुद्ध युवाहरू सडकमै आउनु र बादलले संसदको रोष्टममै उभिएर बालेका कुरा नेतृत्व तहबाटै सामाजिक सञ्जालमा विरोध हुनु कम्युनिष्ट पार्टीमा विरलै देखिने घटना हुन् ।

हिजोसम्म नेतृत्वको कोपभाजनमा परिने हो कि ? भनेर मुर्मुरिएर बसे पनि बाहिर देखाउने कसैको हिम्मत थिएन । अझ कम्युनिष्ट पार्टीमा आफना असन्तुष्टी आफू संगठित भएको कमिटीमै राख्नु पर्छ बाहिर पोखे कारवाहीको विषय हुन्छ । सिद्धान्तले भन्छ – व्यक्ति संगठनको मातहत, तल्ला कमिटी माथिल्लो कमिटीको मातहत आदी । तर, एमालेमा नेतृत्वले यसलाई फरक विचारको तेजोबध गर्ने औजार बनाए पछि युबाले विद्रोह गरेका हुन् । एमालेमा यो अवश्यम्भावी थियो । हावा भरिएको बललाई जति थिच्यो त्यति माथि उफ्रनु स्वभाविक हो, संगै चिन्ताको विषय पनि । भोली चित्त नबुझ्नासाथ सडकमा आउने परिपाटी बस्यो भने के गर्ने ?

एमालेमा अहिले सुधारको कुरा उठिरहेको छ तर पार्टीलाई पुनः जनतामा स्थापित गर्न ठूलै शल्यक्रियाको आवश्यकता छ । विगत १० वर्षअघि देखि पार्टी गलत ट्र्याकमा हिडेको छ, त्यसलाई लिकमा हिडाउन सानोतिनो सुधारले पुग्दैन । २०४८ साल यता जन्मिएका एमाले कार्यकर्ताले कमिटी कस्तो हुनुपर्छ, निर्णय प्रकृया कस्तो हुन्छ ? बैठक संचालनका तरिका के हुन ? जस्ता सामान्य कुरा पनि सिक्न बुझ्न पाएनन् । हरेक तहको हरेक बैठकमा नेतृत्वले भाषण सुनाउने त्यो पनि गुणगानको परम्परा बसेको छ । जनताका एजेण्डामा छलफल हुने तर्कवितर्क गर्ने परम्परा हराएको छ ।

अहिले जो जो नेताहरू नेतृत्व हस्तान्तरणको कुरा उठाइरहेका छन् उनीहरूले पनि यस्ता कुरा विर्सिसकेका छन् । एकखालको प्रकृया वा दिनचर्यामा बानी बसिसकेकालाई अर्को खालको वातावरणमा घुलमिल हुन असहज हुन्छ । जहिलेदेखि एमालेमा स्थायी गुट वा ती गुटलाई विचार समूहका नाममा मलजल गरिन थालियो त्यहीदेखि कुरा विग्रेको हो ।

कम्युष्टि पार्टीमा स्थायी गुट हुदैनन् । लेनिनवादी संगठात्मक सिद्धान्तले स्थायी गुट वा विचार समूह निषेध गर्छ । कुनै पनि कमिटीका कुनै व्यक्ति सधैं एउटै समूहमा रहनु स्थायी गुट हो । कमिटीमा एजेण्डामा छलपल हुने भएकाले व्यक्तिका आ–आफनै मत वा तर्क हुनु स्वभाविक हो । तर एमालेमा एजेण्डा के हो ? भन्दा पनि कसले यो एजेण्डा राख्यो भन्ने हिसावले हेरिन थालियो । एजेण्डा हेरेर भन्दा मुख हेरेर तर्क पक्ष लिने प्रवृति रह्यो । बैठकमा मूल नेतृत्वको पक्षलिने पजनीमा पर्ने अरु लखेटिने हुन थाल्यो । विग्रेको यहीबाट हो । नेतृत्वले सुधार यहीबाट सुरु गरे धेरै समस्या समाधान हुन्छन् । तर अहिलेका अध्यक्ष क. केपी ओलीबाट त्यसको आश गर्न सकिदैन । किनभने पार्टीमा स्थायी गुटको विजारोपण गर्नेनै उनी हुन् ।

आर्को हो सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी – एमाले यही सिद्धान्तलाई व्यवहारमा उतार्दै आएको पार्टी हो । जबदेखि केपी ओलीको उदय भयो, पार्टीमा यो सब हरायो । नेतृत्वमा पुग्न नेताको परिक्रमा गर्नु पर्ने परिपार्टी बस्यो । आफू गुटगत राजनीतिलेनै शिर्ष नेतृत्वमा पुग्न सफल भएकाले ओलीले त्यो गुटलाई थप बलियो बनाउन तिर लागे । सिंगो पार्टी आफ्नो हातमा पुगिसक्दा पनि उनी गुटगत मानसिकताबाट माथि उठन् सकेनन्, बरु बदलाको भावनाले काम गर्न थाले । पार्टीका वडा तहको नेता पनि माथिल्लो कमिटीका नेता वा ओलीका विश्वास पात्र स्थानीय मुखियाले चुन्न थाले । नेतृत्वमा पुग्न मातहतका कार्यकर्ताको भावना बुझ्ने होइन नेताको चाकरी गरे पुग्ने भयो । विग्रेको कुरा सामूहिक हुने सप्रेको कुरा व्यक्तिगत हुने उल्टो मति सुरु भयो । विश्वासिला जति गन्हाए पनि नजिक राख्ने अर्को जति सफा भएपनि छेउ पर्न नदिने स्थिति भयो र तल तलसम्म त्यसैको चेन अझ कमाण्डजस्तो बन्यो ।

हुँदा हुँदा पार्टीलाई फाइदा भएको अवस्थामा मेरो दूरदृष्टीको कारण, घाटा हुँदा काममा भाँजो हाले, बाहीरी तत्वले घेरा हाले आदी आदी भन्ने थलियो जुन अहिले छ । चुनाव पराजय हुनुमा बाह्य हस्तक्षेपका कारण बताइदैछ । जेनजी आन्दोलन पुरै प्रायोजित बताइदैछ । यो हुँदै नभएको होइन तर पुरै होइन अर्ध सत्य हो । कुनै पनि आफूलाई कम्युनिष्ट भन्नेले पुरै बाह्य कारण मान्छ भने बुझ्नुस् त्यसको खोल मात्र कम्युनिष्ट हो । सत्य त के हो भने आन्तरिक कारण जहिल्यै प्रधान हुन्छ, बाह्य सहायक । आन्तरिक कारणले जर्जर भएको अवस्थामा बाह्य वातावरण अनुकूलन हुँदा नतिजा अर्को देखिने हो । आन्तरिक अवस्था मजबुत भएको अवस्थामा बाह्य दबाब जति बलियो भए पनि नतिजामा खासै ठूलो परिवर्तन आउँदैन । अहिले एमाले नेतृत्व पुरै बाह्य कारण बताउँदैछ, फरक स्वर आन्तरिक कारणलाई मात्र दोष दिदैछ ।

भन्ने कुरा धेरै छन् तर, अहिलेलाई अन्त्यमा यत्ति भनौं अहिले एमालेमा नेतृत्व परिवर्तन मात्रले पुग्दैन । नीति, नेतृत्व, कार्यशैली सबै परिवर्तन गर्नु पर्ने देखिन्छ, त्यसका लागि परिवर्तित नेतृत्वको पनि खासै भर पर्नु पर्ने अवस्था छैन । यद्यपी अब नेतृत्व परिवर्तन भित्रैबाट नभए बाहिरबाट हुने अवस्थाको विकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार