लाखौँ मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज

अन्तराष्ट्रिय

115596604_michigan-400x220

115596604_michigan-400x220

एजेन्सी । हुलाकमार्फत्‌ दिइएका लाखौँ मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित एक न्यायाधीशले खारेज गरिदिएका छन्।

न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी जायज नभएकोू ठहर गरेका हुन्। योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने बाटो खुलेको छ।

उनी त्यहाँ ट्रम्पको भन्दा ८० हजारभन्दा बढी मतले अगाडि छन्। नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजयलाई उल्टाउन खोजिरहेका ट्रम्पका लागि यो अर्को धक्का हो।

चुनावमा आफू पराजित भएको मान्न उनले अस्वीकार गर्दै आएका छन् र कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।ट्रम्पले पराजय स्वीकार नगर्दा सामान्यतया अमेरिकी चुनावपछि शुरू हुने प्रक्रियाहरूमा ढिलाइ भएको छ।

बाइडनले ट्रम्पलाई २३२ विरुद्ध ३०६ इलेक्टरल मतले पराजित गर्ने प्रक्षेपण गरिएको छ।आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मतदातालाई उनीहरूको मताधिकारबाट वञ्चित गराउने प्रयास गरेको बताएका छन्।

मुद्दामा तनावपूर्ण कानुनी तर्क र आशङ्काका आधारमा कुराहरू गरिएको न्यायाधीशको भनाइ छ।

अरू महत्त्वपूर्ण राज्यको स्थिति के छ ?
शुक्रवार जोर्जियाले हातले मतपत्र गनेपश्चात् बाइडनले जितेको प्रमाणपत्र दिएपछि ट्रम्प अभियानलाई धक्का लागेको थियो । ट्रम्प अभियानलाई पुन ः मतगणनाका लागि निवेदन दिन दुई दिन समय बाँकी छ।

अर्को महत्त्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन्। ट्रम्प समूहले विरोध गरेपछि उनीहरूले सबभन्दा ठूलो काउन्टी डीट्रोइटमा राष्ट्रपतीय मतको पुनः जाँच गर्न माग गरेका थिए।

तर मिसिगन डिपार्टमेन्ट अफ स्टेटले प्रमाणीकरण ढिलो गर्न र पुनः मतगणनता गर्न कानुनले नदिने बताएको थियो। विस्कन्सिनमा चुनाव अधिकारीहरूले ट्रम्प समर्थकहरूले पुनः मतगणना कार्यमा बाधा पुर्‍याएको आरोप लगाएका थिए।

ट्रम्पका पर्यवेक्षकले हरेक मतमा समस्या देखाउँदै मतगणना कार्य जानीजानी ढिला गराउन खोजेको अधिकारीहरूले बताए। पुनः मतगणना सम्पन्न गर्न नसकेर डिसेम्बर १ तारिखसम्ममा चुनावको परिणाम प्रमाणीकरण गर्न नसके ट्रम्प समूहलाई मुद्दा हाल्न बाटो खुला हुनेछ।

यहाँ बाइडनले २० हजार भन्दा बढी मतले जितेका थिए।अमेरिकीहरूले राष्ट्रपतीय चुनावमा मतदान गरेपछि उनीहरूले खासमा राज्य तहका लागि मत हालेका हुन्छन् राष्ट्रिय तहमा होइन। उनीहरूले राज्यका अन्य प्रतिनिधिका लागि मत हालेका हुन्छन् जसले अन्ततः राष्ट्रपतिलाई मत हाल्छन्।

उदाहरणका लागि मिसिगनमा उनीहरूले बाइडनका लागि मतदान गर्नुपर्ने हुन्छ किनभने जो बाइडनले उक्त राज्यमा चुनाव जितेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार