
काठमाडौं, १ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्धका कारण इन्धनको मूल्य वृद्धि भइरहेका कारण विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ ।
विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन प्रकाशित गर्दै आईएमएफले यस्तो चेतावनी दिएको हो । युद्ध लम्बिएको परिस्थितिमा इन्धन, ग्यास र खाद्यान्नको मूल्य चालु वर्ष र आउँदो वर्षमा समेत उच्च हुने आईएमएमएफले जनाएको छ ।
विश्वको आर्थिक वृद्धिदर सन् २०२६ मा २ प्रतिशतले घट्ने प्रतिवेदनमा उल्लेख छ । ‘यो स्थिति भनेको विश्वव्यापी मन्दीको निकट क्षण हो । सन् १९८० देखि चारपटकसम्म विश्वले मन्दी व्यहोरिसकेको छ । हालैको मन्दी कोभिड महामारीमा सामना गरेको थियो,’ आईएमएफको प्रतिवेदनमा उल्लेख छ ।
विश्वको २० प्रतिशत इन्धन ढुवानी हुने नाका स्ट्रेट अफ होर्मुजमा युद्धका कारण सिर्जित अवरोधले इन्धनको मूल्य पटक(पटक बढेको छ । यो संकट समाधानका लागि प्रयास भए पनि वार्ता सफल हुन सकेन । अमेरिकाले उल्टै होर्मुजमा नाकाबन्दीको घोषणा गरेको छ ।
यो परिस्थितिका कारण विश्वको आर्थिक व्यवस्था एकपटक फेरि मन्दीको चुनौतीतर्फ अग्रसर भइरहेको आईमएफले बताएको छ । ‘एकपटक फेरि विश्व आर्थिक व्यवस्थामा मन्दीको चुनौती थपिएको छ । यो चुनौती मध्यपूर्वमा भएको युद्धका कारण सिर्जित हो,’ प्रतिवेदनमा भनिएको छ ।
युद्ध लम्बिँदै गए तेलको मूल्य प्रतिब्यारेल ११० पुग्ने र सन् २०२७ मा यसको मूल्य १२५ डलर पुग्ने प्रक्षेपण आईएमएफले गरेको छ ।
आगामी वर्ष महँगी ६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण छ । यसले केन्द्रीय बैंकहरूलाई महँगी नियन्त्रणका लागि ब्याजदर बढाउन दबाब पर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । दुई वर्षभित्र परिस्थिति नसम्हालिए विश्वले मन्दीको गम्भीर अवस्था खेप्ने आईएमएफको भनाइ छ ।
यस परिस्थितिले कतिपय राष्ट्रमा महँगी, बेरोजगारी, खाद्य असुरक्षा निम्त्याउने आईएमएफका प्रमुख अर्थशास्त्री पियर ओलीभिय गुगान्साले बीबीसीसँग भनेका छन् ।
यो युद्ध तुरुन्तै अन्त्य भएको खण्डमा पनि सन् १९७० को इन्धन संकटकोझैँ अवस्था सिर्जना हुने उनले बताए । त्यसबखत अरब राष्ट्रहरूले अमेरिका र पश्चिमा अन्य राष्ट्रका लागि तेलको सीमा तोकेका थिए । जसले पश्चिमा राष्ट्रको अर्थतन्त्रमा निकै लामो समय दबाब परेको थियो । तेलको मूल्य प्रतिब्यारेल १२० डलर बाट झर्दै ९८.८५ डलर पुगेको छ ।
यदि केही साताभित्र स्थिति सामान्य भएको खण्डमा सन् २०२६ मा विश्वको आर्थिक वृद्धि ३।१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । आईएमएफले त्यसअघि ३.३ प्रतिशत वृद्धिको प्रक्षेपण गर्दै ३.२ प्रतिशत वृद्धि अपरिवर्तनीय रहेको जिकिर गरेको थियो ।
आईएमएफको प्रतिवेदनले विश्वको अर्थतन्त्र मध्ये सबैभन्दा बढी बेलायत प्रभावित हुने उल्लेख गरेको छ । बेलायतको आर्थिक वृद्धि १.३ प्रतिशत रहने प्रक्षेपण गरेको आईएमएफले हाल ०.८ प्रतिशतको वृद्धि प्रक्षेपण गरेको छ । यस्तै, तेल निर्यातकर्ता मुलुक गल्फ राष्ट्रहरूमा पनि आर्थिक वृद्धि खस्किने आईएमएफको दाबी छ ।
यस्तै, इरानको आर्थिक वृद्धिदरमा यस वर्ष ६.१ प्रतिशतले गिरावट आउने आईएमएफले जनाएको छ । युद्ध अन्त्य भएको खण्डमा सन् २०२७ मा इरानको वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण छ ।
सन् २०२६ मा कतारको आर्थिक वृद्धि ८.६ प्रतिशतले खुम्चिने प्रक्षेपण छ । साउदीको आर्थिक स्थितिमा पनि बिग्रिने आईएमएफको प्रक्षेपण छ । यद्यपि उसको आर्थिक वृद्धि ३.१ प्रतिशत रहने प्रक्षेपण छ । ‘यदि युद्ध लम्बियो भने यो प्रक्षेपण काम लाग्ने छैन,’ आईएमएफले भनेको छ ।
चीनको आर्थिक वृद्धिदर ४.४ प्रतिशतमा सीमित हुने आईएमफको प्रक्षेपण छ । तेलको मूल्य बढ्दा रूसले मात्रै लाभ पाएको आईमएफले जनाएको छ । यस वर्ष रुसको अर्थतन्त्रमा १ प्रतिशतले वृद्धि हुने उल्लेख छ ।

