इन्द्रावतीबाट काठमाडौं आउजाउमा निषेध, पालिका कार्यालय एक साता ठप्प

स्थानिय खबर

indrawati-400x220

सिन्धुपाल्चोक । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका सबै सेवा सोमबारदेखि बन्द गरिएको छ । सोमबार गाउँपालिकाका सात जनामा कोरोनास संक्रमण देखिएपछि सेवा बन्द गरिएको हो ।

कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट सोमबारदेखि ७ दिनका लागि इन्द्रावती गाउँ कार्यपालिका, सम्पूर्ण वडा कार्यालयहरूमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका पठनपाठन अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष वंशलाल मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार गाउँपालिका बाहिरबाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्न लगाउने, यदि नबसेमा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइनेछ । विदेशबाट आएका, अस्पतालबाट आएका र कोरोना जोखिम स्थानबाट गाउँपालिकामा आउनेलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टसहित अनिवार्य रूपमा होम क्वारेन्टाइनमा राख्ने व्यस्था वडा कार्यालयबाट गराइने भएको छ ।

अहिलेको विशेष परिस्थितिमा गाउँपालिकामा कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट कुनै सभा सम्मेलन तथा गोष्ठी सञ्चालन गर्न निषेध गरिएको छ । त्यसैगरी गाउँपालिकाले अत्यावश्यक काम बाहेक काठमाडौं आउजाउमा समेत निषेध गरेको छ । अत्यावश्यक सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपरे आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

नजिकिदै गरेको दशै, तिहार, छठ जस्ता चाडपर्व, मेला महोत्सवमा सुरक्षा मापदण्ड पालना गर्न लगाउने, घरभित्रै नै चाडपर्व मनाउन सम्पूर्ण गाउँवासीलाई गाउँपालिकाले अनुरोध गरेको छ । अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाड नगर्न सार्वजनिक सूचना जारी गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार