
बर्दिवास, १८ वैशाख । कुनै समय गढी, गाढा र किसानहरूको भिडभाडले गुलजार रहने श्रीकिसान सहकारी साझा संस्था (साझा संस्था) करिव ३५ वर्षपछि पुन तङ्ग्रिने भएको छ । टाठा, बाठाको राजनीतिक खेल र चरम दोहनले लगभग मृत्यु शैय्यामा पुगेको यो संस्थाले अहिले पुनः किसानको भरपर्दो साथी बन्ने स्किम ल्याएसंगै पुन तंङ्ग्रिन लागेको हो ।
यो संस्थाको नयाँ स्किममा बर्दिवास नगरपालिकाले पनि होस्टेमा हैंसे गरेकाले यस भेगका किसानहरू हौसिएका छन् । संस्थाले डेरी उद्योग र वेशार खेतीको नयाँ कार्यक्रममा बर्दिवास नगरपालिकाले काँध थाप्ने प्रतिवद्धता जनाएकाले संस्था तङ्ग्रिन तथा किसान हौसिन थालेका हुन् । संस्थाले डेरी उद्योग संञ्चालन गर्न सुरु गरिसकेको छ भने वेशार खेतीका लागि धमाधम निब्र्याजी ऋण उपलब्ध गराइरहेको छ ।
संस्थाले यस भेगका पशुपालक किसानको दुःखलाई मध्यनजर गर्दै डेरी उद्योग सञ्चालनमा ल्याएको हो । संस्थाले सञ्चालन गरेको डेरी उद्योगलाई बर्दिवास नगरपालिकाले (हिजो) बिहीबार मात्र दुग्ध प्रशोधन र भण्डारणका लागि आवश्यक सामाग्री उपलब्ध गराएको छ । ती सामाग्रीमा मिल्क इनाइजर ३ थान, दुध राख्ने क्यान (४० लिं वाला) १० थान, क्रिम काट्ने मेसिन ३ थान, दुध नाप्ने जग ५ लि.को ५ थान, १ लिटको जग १० थान, स्याम्पलिङ बोतल ३०० थान, स्याम्पलिङ कप १० थान, रातो जाली १० थान र दुध फिट्ने मेसिन ३ थान उपलब्ध गराएको छ ।
ती सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख प्रह्लाद क्षेत्रीले यस संस्थालाई दुध विक्रि गर्ने किसानलाई प्रतिलिटर थप २ रुपैयाँ अनुदान दिने घोषणा गरे । हाल किसानले विचौलियामार्फत दुध विक्रि गर्दा सस्तोमा विक्री गर्नु पर्ने, पैसा नपाउने, पाए पनि समयमा नपाउने गुनासो आएकाले सो समस्या निराकरण गर्न साझा संस्थालाई दुध विक्रि गर्ने किसानको रकमको नगरपालिका ग्यारेण्टी बसिदिने व्यवस्था मिलाइएको नगर प्रमुख क्षेत्रीले बताए ।
उनले भने ‘संस्थाले संकलन गरेको दुध विक्री नभएर पाउडर बनाउनु पर्यो र समयमा किसानलाई भूक्तानी गर्न सकेन भने नगरपालिकाले किसानलाई भूक्तानी दिन्छ । किसालाई दुधको रकम भूक्तानी दिएको नगरपालिकाको रकम संस्थाले आफ्नो दुग्ध उत्पादन बेचेर फिर्ता गर्नु पर्नेछ ।’ किसानले दुःख नपाउन भनेर यो व्यवस्था मिलाइएको र यसले पशुपालक किसानलाई प्रतक्ष्य लाभ हुने उनले बताए ।
त्यस्तै अहिले संस्थाले वेशार खेतीका लागि धमाधम निब्याजी ऋण ऋण लगानी गरिरहेको छ । प्रतिकट्ठा २ हजारका दरले यस्तो ऋण लगानी गरिएको संस्था सञ्चालक समितिका अध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए । बर्दिवास नगरपालिका भित्रका विभिन्न वडामा गरेर यस वर्ष २५ विगाहा जमिनमा वेशार खेती लाग्ने पोखरेलको अनुमान छ । यो खेती हरेक वर्ष बढ्ने अध्यक्ष पोखरेल दावी गर्छन । किसानले उत्पादन गरेको जति पनि वेशार प्रचलित वजार मूल्यमा संस्थाले खरिद गर्ने उनले बताए । काँचो वेशार प्रशोधन गरेर संस्थाले विक्रि गर्ने योजना छ । यसका लागि संस्थाले आफ्नो भवनमा वेशार मिल स्थापना गर्नेछ भने दुधकोजस्तै किसानले उत्पादन गरेको वेशारको संस्थामार्फत नगरपालिकाले लिने सम्झौता छ ।
संस्थाको यो योजनाले यस क्षेत्रको किसानलाई ठूलो राहत मिल्ने बर्दिवास –१२ का किसान विश्वनाथ महतोले बताए । नगरको उत्तरी भेगमा बाँदर र दक्षिणी भेगमा घोडगधा (निलगाई) को आतंकले किसान चिन्तित छन् । यी जंगली जनावरले कुनै पनि बाली किसानले राम्रोसंग भित्र्याउन नपाएर हैरान, परेशान भएको भएको अवस्थामा संस्थाले ल्याएको यो स्किम ठूलो राहत हो किसान महतोले भने । वेशार यस्तो खेती हो जसलाई न बाँदरले मन पाराउँछ न त घोडगधा चर्छ । यही बन्यजन्तुका पीरले यस भेगका किसानले वैकल्पिक खेतीको आवश्यकता महसुस गरिरहेको अवस्थामा संस्थाले ल्याएको वेशार खेती योजना र नगरपालिकाको होस्टेमा हैंसेले यस भेगका किसानको आर्थिक समृद्धिमा सघाउ पुग्ने महतो विश्वास छ ।

