उपत्यका नगर फोरमको निर्णय – यसरी आर्थिक गतिविधि सञ्चालन गरौं

स्थानिय खबर

nagar-400x220

काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाई गर्नुपर्ने निर्णय भएको बताए ।

यसबाहेक सरकारको विरोध र समर्थनमा ¥याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको बताए ।

आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा कोभिड मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताए । उद्योग भित्रै क्वारेन्टाइन निर्माण गरी मजदुर र कर्मचारी राख्ने व्यवास्था गरेपछि मात्रै उद्योग सञ्चालन गर्न दिनुपर्ने, सार्वजनिक यातायातलाई हालको लागि रोक लगाई निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्नुपर्ने लगायतका निर्णय समेत फोरमले गरेको छ । त्यस्तै स्थानीय तहबाट प्रदान भएको सेवा प्रवाहलाई आवस्यकता अनुसार नियमित रुपमा सूचारु गर्ने निर्णय पनि फोरमले गरेको छ ।

यसबाहेक सरकारले शिक्षक दरबन्दी मिलान गर्ने कार्य गरिराखेको सम्बन्धमा उपत्यका मेयर फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि सचिव श्रेष्ठले बताए । विषयगत आधारमा शिक्षकहरुको अनुपात वर्तमान स्थितिको आधारमा कायम गर्नुपर्ने ठहर गर्दै शिक्षकहरुको तलब भत्ता तत्काल उपलब्ध गराउन समेत फोरमले माग गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनको क्रममा रहेकोमा फोरमको गम्भीर ध्यानाकर्षण भएको पनि श्रेष्ठले बताए । ऐन संशोधन गर्ने सम्बन्धमा सुझाव तयार पार्न कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरि, नागार्जुन नगरपालिकाका उपमेयर शुशिला अधिकारी, र तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार