चितवन काँग्रेसमा भाँडभैलो, चौरासी गरेका नेताको वागी उठने तयारी

banner

sapkota

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसभित्र असन्तुष्टि चसलिएको छ । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता कृष्णलाल सापकोटाले मेयरमा बागी उम्मेदवारी दिन कांग्रेस कार्यकर्ताहरूबीच छलफल चलाइरहेका छन् ।

नारायणगढको कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार दिउँसो २ बजेका लागि भेला आह्वान गरिएको कांग्रेसका एक नेताले बताए । भेलामा भरतपुर महानगरपालिकाको मेयर छाड्ने केन्द्रको निर्णयबारेमा छलफल गरेर अब कसरी अगाडि बढ्ने भनेर योजना बनाइने बताइएको छ ।भेलामा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला समेतलाई बोलाइएको छ । गुरुङ र कोइराला दुबै कांग्रेसले महानगरको मेयर पाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका नेता हुन् ।

केन्द्रीय सदस्य कोइरालाले कार्यकर्ताको कुरा सुन्न पार्टी कार्यालयमा जाने बताए । ‘कांग्रेसले नै भरतपुरको मेयर पाउनुर्छ भन्नेमा हामीले पहिलादेखि नै आवाज उठाउँदै आएको होु, कोइरालाले भने, ‘गठवन्धन गरेर माओवादीलाई दिँदा भरतपुरमा कांग्रेस कमजोर बन्यो, अहिले मेयरमा छोरीलाई जिताउने, पछि संघीय चुनावमा बाबुलाई मत दिनुपर्ने होला, कहिलेसम्म यसो गरेर बस्ने हो कांग्रेस ?’

जिल्ला सभापति राजेश्वर खनाल भने असन्तुष्टि मथ्थर पार्न सक्रिय भएका छन् । खनालले भने ‘केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको छु । अहिले व्यस्त भएर हो विज्ञप्ति पनि निकाल्ने तयारीमा छु ।’

‘गठबन्धनमा भएको सहमतिलाई र समग्र चुनावी प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु’, उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार