
बर्दिवास, ३२ असार । नेकपा(एमाले) नेता लक्ष्मी महतो कोइरी रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशले उनी बिहीबारनै महोत्तरीस्थित जलेश्वर कारागारबाट रिहा भएका हुन् ।
कोइरीका छोरा मनोज कुमार महतोले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । उनलाई दुईसाता अघि गृहनगर गौशालास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।
कोइरीलाई असार १७ गते उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका थमन विक हत्या प्रकरणमा पाँच वर्षको कैद सजाय सुनाएको थियो । यसअघि जिल्ला अदालत महोत्तरीले सफाई दिएका उनलाई सो फैसला उल्टाउँदै उच्च अदालतले पाँच वर्षको कैदको फैसला सुनाएको थियो ।
त्यसको भोलीपल्टै पक्राउ गरिएका कोइरीका तर्फबाट उनका छोरा मनोज महतोले सर्वोच्चमा बन्दीप्रतक्ष्यीकरण मुद्दा दर्ता गराएका थिए । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाद्वारा जारी पत्र अनुसार कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नु नपर्ने भए आजै (बिहीबार) थुनामुक्त गर्न कारागार कार्यालय महोत्तरी, जलेश्वरलाई निर्देशन दिइएको थियो ।

