गोरखामा पनि सत्तारुढ दलहरुबीच गठबन्धन नहुने

राजनीति

gorkha_gathbandhan

गोरखा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् ।

आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले बताए । ‘गठबन्धन गर्ने विषयमा दलहरुबीच आठ पटक बैठक बस्यो, तर आठवटै बैठकमा दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारीमा पुग्यौं’ उनले भने ।

नेकपा माओवादी केन्द्रका जिल्ला नेता लोकप्रसाद बञ्जराले पनि पटक पटक बैठक बस्दा पनि सहमति नभएपछि आ–आफ्नै सुरले चुनाव लड्ने भनेर बैठक अन्त्य गरेको बताए । ‘हामीले पाँच वटा पालिका मागेका थियौ तर त्यसमा सहमतिको सम्भावना देखिएन’ उनले भने ।

केन्द्रबाट पहल भएमा सहमतिको प्रयास हुन सक्ने भएपनि अब जिल्ला संयन्त्र बैठकको सम्भावना नरहेको नेता बञ्जराले बताए ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले पनि तालमेलको सम्भावना टरेको बताए । सहमतिका लागि पटक पटक प्रयास गर्दा पनि भागबण्डामा कुरा नमिलेपछि आफ्नै तरिकाले चुनाव लड्ने तयारी गरिएको उनले जानकारी दिए ।

नेताहरुका अनुसार ११ वटा स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टीले २ स्थानीय तहको नेतृत्व नछाड्ने अडान राखेका छन् । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने स्थानीय तहको नेतृत्व मागेको छैन ।

जनता समाजवादी पार्टीले पालुङटार नगरपालिका र कुनै एक गाउँपालिकाको नेतृत्व आफूहरुले माग गरेको थियो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष यादव बस्नेतले केन्द्रबाट कुनै निर्देशन आएमा गठबन्धन हुने अन्यथा त्यसको सम्भावना टरेको बताए । ‘गठबन्धन टिकाउन हामीले हदैसम्मको लचकता अपनाउन तयार छौं, तर अरु दलबीच नै कुरा नमिलेपछि अब बैठकको औचित्य र सम्भावना पनि सकियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार