एमालेसँग तालमेल गर्न गठबन्धनका दलहरूको हानथाप

banner

sthaniya-nirbachan

काठमाडौं । गठबन्धनका दलहरूको विजोग देखाउने अर्को दृश्य हो एमालेसँगको तालमेल । जुन दललाई प्रतिगमनकारी भन्दै आफू सत्तामा आसिन छन् र जसका विरुद्ध गठबन्धन बनाएका छन् आन्तरिक संकटका कारण उसैसँग तालमेल गर्न पुगे । गठबन्धनका दलहरूले बरु ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने तर, एमालेसँग तालमेल नगर्ने भनेर केन्द्रबाट निर्देशन नै जारी गरेका थिए । तर सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे ।

त्यसमा पनि रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले गर्‍यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए ।

प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि माओवादी केन्द्र पनि नेकपा एमालेसँग तालमेल गर्न पुग्यो । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले(माओवादी गठबन्धन हुन पुग्यो ।

गठबन्धनका साना दलले एमाले रोज्न थालेपछि प्रमुख दल कांग्रेसले पनि त्यही बाटो रोज्यो । चुनावी घोषणापत्रमा एमालेलाई भएभरको गाली गरेको कांग्रेसले सहयात्री दलहरूलाई मिलाउन नसकेर आफैं एमालेसँग तालमेल गर्न पुग्यो ।

रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा एमालेका विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसका कृष्ण विकको उम्मेदवारी दर्ता भयो । पालिकामा मात्रै होइन, कांग्रेस र एमालेले वडामा समेत तालमेल गरेका छन् ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे ।

भोजपुरको आमचोक गाउँपालिकाका वडामा कांग्रेसले एमालेसँग तालमेल गर्‍यो। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश १ का पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता शेरधन राईको घर रहेको उक्त गाउँपालिकामा एमाले र कांग्रेस मिलेर १० वटा वडा बाँडफाँट गरेका छन् । त्यसबाहेकका गाउँपालिकामा पनि कांग्रेसले एमालेसँग जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामासमेत तालमेल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार