गठ नभएको बन्धन भयो गठबन्धन, जताततै फुस्कियो

banner

deuba-madhav-prachanda-baburam-upendra-gathbandhan

काठमाडौं । नेकपा (एमाले) विरुद्ध देशभर गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका पाँच दलको निर्णय तिनकै कार्यकर्ताले गठ नभएको बन्धन सावित गरिदिएका छन् । एमालेसँग कुनै हालतमा तालमेल नगर्ने सर्कुलर जारी गरेको गठबन्धनलाई तिनकै कार्यकर्ताले लोप्पा ख्वाइदिएका छन् । केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ । केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए ।

सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराए । तर, पहिल्यैदेखि नै असन्तुष्ट रहेको चितवन कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले पनि बागी उम्मेदवारी दर्ता गराए ।

अर्को महत्वपूर्ण महानगर हो, पोखरा । गठबन्धन केन्द्रको निर्णयअनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको थियो । सोहीअनुसार प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ताको क्रममा आचार्यले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई सँगै उभ्याएर आफू पार्टीको मात्रै नभई सिंगो गठबन्धनको उम्मेदवार भएको देखाउने प्रयास गरे । तर, त्यही महानगरमा नेपाली कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनको यो संकट महानगरमा मात्रै होइन, देशभरका अधिकांश पालिकामा समेत देख्न सकिन्छ । गण्डकी प्रदेशको कास्कीमा मात्रै पोखरा बाहेकका पालिकामा गठबन्धनले साझा उम्मेदवारी दर्ता गर्न सकेन ।

म्याग्दीका ६ वटा स्थानीय तहमध्ये दुईवटामा बाहेक तालमेल गर्न सकेन । मुस्ताङका केही वडामा बाहेक कुनै पालिकामा पनि गठबन्धन कायम रहेन । तनहुँका १० पालिकामध्ये ३ पालिकामात्रै गठबन्धन भएको छ ।

गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गबठन्धनभित्रका दलहरूले अर्को गठबन्धन बनाए । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा नै दलहरूले कतै एक्लाएक्लै त कतै त्यहीभित्रै उपगुट बनाएर उम्मेदवारी दर्ता गराए । उनको गृह जिल्ला डडेल्धुरामा नै दुईवटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । बाँकी पालिकामा गठबन्धनका दलहरूले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने निर्णय गरे ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा तीनवटा पालिकामा तीनवटा दलले र एक(एक पालिकामा दुई(दुई वटाले तालमेल गरे । सुनर्या गाउँपालिका प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिए । पाटन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिए । तर, यी दुईवटै पालिकामा तेस्रो दलले गठबन्धनका उम्मेदवारलाई समर्थन गरेनन् । परिणामतः सुनर्या गाउँपालिकामा कांग्रेसले र पाटन नगरपालिकामा एकीकृत समाजवादीले आ–आफ्ना उम्मेदवार उठाए । बाँकी पाँचवटा पालिकामा भने गठबन्धनका सबै दलले ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराए ।

दार्चुलामा गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरे । एकीकृत समाजवादीले भने दुईवटा पालिकामा मात्रै एक्लै उम्मेदवारी दर्ता गरायो । कञ्चनपुरमा गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरे । तर, कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दियो । माओवादी र एकीकृत समाजवादीले तालमेल गरेकै एउटा नगरपालिकामा पनि उपप्रमुख पदमै बागी उम्मेदवारी पर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार