देउवाको पत्र अस्वीकृत, उम्मेदवारी कायमै रहेको आयोगको प्रस्टोक्ति

banner

election-commission-1024x624

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएको उम्मेदवारी फिर्ताको पत्र अस्वीकृत गरेको छ ।

समयसीमाभित्र पत्र नआएको र पत्रमा विवरण खुल्ने गरी व्यहोरा सम्बोधन पनि नभएको भन्दै कांग्रेस उम्मेदवार बासुदेव अधिकारीको मनोनयन फिर्ता गर्न अस्वीकृत गरेको हो । उच्च स्रोतका अनुसार, पत्र अस्वीकृत गरेलगत्तै निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले निर्वाचन आयोगमा रिपोर्टिङ गरेका थिए ।

‘हामीले अन्तिम नामावली प्रकाशित गरेलगत्तै जिल्ला निर्वाचन कार्यालयबाट कांग्रेस सभापतिले पठाएको इमेल फरवार्ड भएर आयो’ उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘६ बजिसकेको थियो, हामीले अब हेर्न सक्ने अवस्था भएन । प्रक्रिया टुंगिइसक्यो ।’ स्रोतका अनुसार, ६ बजेर १६ मिनेटमा इमेल प्राप्त भएको भनी आयोगमा रिपोर्टिङ भएको थियो ।

सत्ता गठबन्धनका दलहरुबीच लालबन्दी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रल्हादकुमार बुढाथोकीलाई आधिकारिक उम्मेदवार मान्ने र कांग्रेस उम्मेदवार वासुदेव अधिकारीले नाम फिर्ता लिने सहमति भएको थियो ।

त्यस अनुसार शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय अपरान्ह ५ बजेभित्रै अधिकारीले नाम फिर्ता लिनुपर्ने थियो । तर उनले फिर्ता नलिएपछि कांग्रेस सभापति देउवाले उनको नाम फिर्ता लिएको भनी केन्द्रबाटै पत्र पठाउने विकल्प रोज्यो । तर देउवाको पत्र समयमा नपुगेपछि अधिकारीको उम्मेदवारी कायमै रहेको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नगर प्रमुखका उम्मेदवार बासुदेव अधिकारीको नाम मनोनयनबाट फिर्ता हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा पठाएका थिए । निर्वाचन आयोगमा भएको रिपोर्टिङ अनुसार, दुईवटा कारणले त्यो पत्र स्वीकृत गर्नसक्ने अवस्था थिएन ।

पहिलो, उक्त पत्र सवा ६ बजेपछि मात्रै निर्वाचन अधिकृतको कार्यालयमा इमेल फरवार्ड भएर आएको थियो । दोस्रो, देउवाको नाममा प्रेषित पत्र यति हतारमा काटिएको थियो कि कहाँ पठाइयो भन्ने विवरण समेत थिएन ।

पत्रको सम्बोधनमा ‘निर्वाचन अधिकृतज्यू, निर्वाचन अधिकृतको कार्यालय, सर्लाही’ भनिएको छ । सर्लाहीमा स्थानीय तहको नाममा मात्रै निर्वाचन अधिकृतको कार्यालय छ ।

खासमा देउवाले निर्वाचन अधिकृतको कार्यालय, लालबन्दीका नाममा पत्र पठाउनुपर्ने आयोग स्रोत बताउँछ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन प्रक्रियाका विषयवस्तु हेर्दैन ।

शुक्रबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ताको समयसीमा थियो । धेरै निर्वाचन अधिकृतको कार्यालयले ५ देखि ६ सम्म अन्तिम नामावली प्रकाशन गरेका छन् । ‘घटनापछि अब हामीले कुनैपनि हालतमा रिभ्यू गर्न सकिदैन भनेर उहाँ९निर्वाचन अधिकृत श्रेष्ठ०ले रिपोर्टिङ गर्नुभयो’ आयोग स्रोतले भन्यो, ‘प्रकाशित अन्तिम नामावलीलाई नै आयोगले मान्यता दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार