सिंचाईको प्रवन्ध मिलाएर किसानको जीवनस्तर उकास्छौं

राजनीति

su

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरपालिका–ं ४ वडाध्यक्ष पदका उम्मेदवार राजनप्रसाद आचार्यले बडिखेलको राजकुलोका साथै अन्य कुलोहरु सञ्चालन गराइ उत्पादनमा जोड दिइने बताएका छन् ।

वडामा रहेका सो धरोहरहरूको संरक्षण गर्दै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरी किसानको जीवनस्तर उकास्ने उनले बताए ।
उनले भने, ‘वडाभित्र रहेका राजकुलोका साथै सहायक कुलोहरु मासिएका छन् । यहाँ खेती गर्न जनताले आकाशको पानीको भर पर्नु परिरहेको छ । यसैगरी वडामा ‘एक घर एक धारा’ नीति लिइ प्रत्येक घरमा प्रशोधित खानेपानीको व्यवस्था गरिने, वडाभित्रका मूल संरक्षणका लागि कार्यक्रम सञ्चालन गरी पानीको वितरणमा समते बैज्ञानिक प्रविधि अपनाइनेछ ।’

यसैगरी वडा सुशासनका मुख्य आधारहरु पारदर्शिता तथा जवाफदेहिता एवं सहभागिता र विधिको शासन भएको बताउँदै उनले वडा कार्यालयले उपलब्ध गराउने सबै सेवाहरु सेवाग्राहीलाई जानकारी गराउन ‘नागरिक वडापत्र’ जारी गरिने, वडामा आउने गुनासा सुनुवाइको लागि अधिकारी तथा ‘नोडल अफिसर’ को व्यवस्था गरिने, सो निर्वाचन सम्पन्न भएको तीनमहिना भित्र ‘बृहत्तर बडिखेल गुरुयोजना’ तयार गरी समुन्नत र समृद्ध बडिखेलको अल्पकालिनका साथै मध्यकालिन तथा दिर्घकालिन योजनाहरु निर्माण गरिने आचार्यको भनाइ छ ।

यसैगरी कार्यालमा हुने भड्किलो खर्चलाई न्यूनिकरण गरिने, वडामा सुझाव पेटिकाको व्यवस्था गरी आएका सुझावहरुलाई अनुशरण र कार्यान्वयन गरिने, हरेक योजना समाप्ति पश्चात बजेट अनुशरण कामको विवरण सार्वजनिक गरिने, मूल सडकलाई सडकपेटी सहितको बनाइने, सहायक सडकहरु स्तरोन्नती गरी सबै सडक कालोपत्रका साथै सौर्य ऊर्जामा आधारित सडक बत्तीको व्यवस्था गरिने उनले जानकारी गराए ।

त्यसैगरी बडिखेल सुरक्षाका लागि सबैजसो चोकहरुमा सिसीटिभी जडान गरिने, तोकिएका बस बिसौनिहरुलाई विश्रामस्थल सहितको बाल तथा अपाङ्गमैत्री बनाइने, वडामा रहेको एक मात्र श्री पथ पदर्शक सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी आवश्यक पर्ने भौतिक पूर्वाधार थपिने, हरेक टोल तथा उपलब्ध उपयुक्त स्थानहरुमा सुन्दर उद्यानहरु निर्माण गरिने आचार्यको टिम सहित जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।

सोका अलवा उक्त पत्रमा बडिखेल चक्रपथ सडक निर्माणका लागि डिपिआर तयार गरिने, पुराना विद्युतीय पोलहरु हटाई स्थायी पोलको व्यवस्था गर्न सम्बन्धीत निकायमा पहल गरिने, सामुदायिक वनलाई पर्यटकीय, जडिबुटि तथा फलफूल खेतीमार्फत आकर्षित गरी आयमुलक र रोजगारी मुलक बनाइने, सामुदायिक भवन परिसर जस्तै सिमलटार, हर्रामुल, ग्वालिन्दह आदिमा रमणीय पार्क निर्माण गरिने, ‘एक घर एक विरुवा’ को नीति लागु गरिनाका साथै वडामा रहेका जल तथा जमिन र जङ्गललाई आयमुलक एवं रोजगारीमुलक बनाउन वातावरणमैत्री वैज्ञानिक भू सम्पदा उपयोगको नीति लिइनेछ कुरा उल्लेख गरिएको छ ।

उक्त प्रतिवद्धता पत्रमा सोका अलवा वडाभित्रका कृृषक पहिचान गरी कृषी तथा पशुपालन गर्ने किसानलाई परिचयपत्र प्रदान गरीने, कृषकको व्यवसायीक प्रकृति अनुसार अनिवार्य बीमा गरिने, वडाका दुई स्थान पहिचान गरी नमुनावस्ती विकास गरिने, स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग समन्वय गरी ग्लालिन्दहको माथि थुम्की डाँडामा शहिद पार्क, पिकनिक स्थल, ठूलोखोलाबाट लेल हुँदै फुल्चोकी ट्रेकिङ रुटामा जोडिने व्यवस्था मिलाइने जनाइएको छ ।

यसैगरी कृषि, पशुपालन, तथा पर्यटन व्यवसायमा उत्कृष्ट किसानलाई पुरस्कृत गरिने, करियर काउन्सिलिङ र सीप परामर्श केन्द्रको निर्माण, बडिखेलको एक मात्रै सामुदायिक विद्यालयमा स्थानीय भाषा, संस्कृतिलाई प्रवद्धन गर्ने विषयमुलक पुस्तकालय एवं अनुसन्धान तथा अवलोकन कक्षको स्थापना, हाल वडामा रहेको उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चिकित्सक सहितको सुविधा प्रदान, स्वास्थ्य बीमाको व्यवस्था कार्यान्वयन, वडामा रोजगार वृद्धिका लागि सीप केन्द्र विकास गरी स्वरोजगार बन्ने वातावरण निर्माण, ठूलोखोला सिम, हर्रामुल, पिपलबोट, थापागाउँ खर्क लगायत अन्य संभावित ठाउँहरुमा भूगोलको उपलब्धता अनुसार ब्याडमिन्टन तथा भलिबल र टेबलटेनिस कोर्टको निर्माण गरिने सुनाइएको छ ।

त्यसैगरी सामुदायिक वनहरुमा रहेका पुराना पोखरी उत्खनन् र संरक्षण, खेर गइरहेका निजी वा सरकारी बाँझो जमिनहरुमा जडिबुटी तथा बोटविरुवा लगाउनको लागि वडामार्फत बिरुवा अनुदान दिइ जग्गा बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गरिने र बडिखेलमा रहेका सबै ऐतिहासिक तथा धार्मिक राधाकृष्ण, धनेश्वर महादेव, राम, गणेश अनि देवीस्थान, कुमारी, बुद्ध र तपेश्वर महादेव मन्दिर संरक्षण तथा सम्वद्र्धनका लागि आवश्यक बजेट विनियोजन गरी सार्वजनिक पाटी निर्माण, वडाभित्र बजाइने बाजा तथा मनाइने जात्रापर्व संस्कृतिको संरक्षण, बडिखेलमा सञ्चालन हुने यातायातको व्यवस्थापनलाई चुस्त बनाइने र वडामा सञ्चालन भइरहेका उद्योग तथा व्यवसाय वृद्धिका लागि विभिन्न योजना अघि बढाइने भएको नेकपा एमाले वडा नं ४ को घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार