तनहुँमा २५ प्रतिशत मत खस्यो

राजनीति

img_9463-jpg

तनहुँ । संघीयता कार्यन्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए । ‘अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भने ।

बिहानैदेखि मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति देखिन्छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजजनक रुपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौरो, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।

तनहुँको १० स्थानीय तहको ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र छन् । दुई लाख ४४ हजार ३४० मतदाताले ४४४ जना जनप्रतिनिधि छान्दैछन् ।

मतदान सम्पन्न गराउनलाई २९७ मतदान अधिकृत, २९७ मतदान सहायक अधिकृत, ५९२ जना सहायक कर्मचारी, २९७ सहयोगी र ८९१ जना स्वयंसेवक खटिएका छन् ।

यस्तै सुरक्षाका लागि नेपाल प्रहरी ६०५, म्यादी प्रहरी एक हजार ५५, ३२४ जना शसस्त्र प्रहरी र ४२५ जना नेपाली सेना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार