१७ पालिकाको मतगणना अन्तिम चरणमा, २ वटामा अझै अन्योल ( सूचिसहित)

banner

bharatpur_l36rcvrbwa

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको मतगणना मैझारोतर्फ उन्मुख हुँदा दुई स्थानीय तहको नतिजा भने अन्योलमा परेको छ । बाजुराको बुगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना अनिश्चित बनेको हो। सोमबार रातिसम्म ७५३ मध्ये ७३४ स्थानीय तहको अन्तिम नतिजा घोषणा भइसकेको छ । निर्वाचन आयोगले ७३४ स्थानीय तहको नतिजा औपचारिक रुपमा घोषणा गर्दा ती दुई स्थानीय तहको नतिजा भने अन्योलमा परेको हो ।

निर्वाचन आयोगका अनुसार मतदानमा धाँधली भएको भन्दै दलहरुले बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुन नदिएका हुन् । त्यहाँ धाँधली भएकाले पुनः निर्वाचन हुनुपर्ने माग समेत उठेकाले के गर्ने भन्नेबारे आयोगले निर्णय गर्न सकेको छैन । बरु त्यहाँका निर्वाचन अधिकृतले बीचैमा राजीनामा दिएपछि थप समस्या उत्पन्न भएको छ ।

यस्तै त्रियुगामा नगरपालिकाको वडा नम्बर १२ को एक मतदान केन्द्रमा पुन मतदान गर्ने भनिएपनि त्यहाँ मतदानको मिति तोक्न नसकिएपछि अझैपनि मतगणना सुरु हुन नसकेको हो । वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रको चुनाव वैशाख ३० गते पुनः मतदान हुने भन्दै स्थगित गरिएको थियो ।

वर्षात र असहज परिस्थितिका कारण पुनः मतदान गर्ने भन्दै सूचना टाँस गरिएपनि नयाँ निर्णय आउन नसकेको हो । बरु यो विषय अहिले अदालतमा पुगेको छ । यो विवादमा उच्च अदालत विराटनगरले विपक्षीसँग लिखित जवाफ मागेको छ भने अन्तरिम आदेशका लागि जेठ १६ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । यहीँको विवादले नगरपालिकाभरीकै मतगणना हुन नसकेको हो ।

यसबाहेक बाँकी १७ स्थानीय तहको नतिजा भने अन्तिम चरणमा पुगेको हो । पोखरा र विराटनगर पालिकामा सत्ता गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित भइसकेपनि अझै केही मत गन्न बाँकी रहेकाले विजय घोषणा गर्न बाँकी छ । यस्तै ललितपुरमा पनि सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुग्दा अन्य स्थानीय तहको मतगणना पनि अन्तिमतिर पुगेको छ ।

हालसम्म मतगणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहको सूची
१. बुढीगंगा नगरपालिका, बाजुरा (गणना सुरु नभएको)
२.तुल्सीपुर उपमहानगरपालिका, दाङ (मतगणना जारी)
३. पोखरा महानगरपालिका, कास्की (मतगणना जारी)
४. महाराजगन्ज नगरपालिका, कपिलवस्तु (मतगणना जारी)
५. तिलोत्तमा नगरपालिका, रुपन्देही (मतगणना जारी)
६. कोटहीमाई नगरपालिका, रुपन्देही (मतगणना जारी)
७. भरतपुर महानगरपालिका, चितवन (गणना अन्तिम चरणमा, माओवादीको जित सुनिश्चित)
८. काठमाडौं महानगरपालिका, काठमाडौं (मतगणना जारी)
९. ललितपुर महानगरपालिका, ललितपुर (मतगणना जारी, काँग्रेस जित नजिक)
१०. वीरगन्ज महानगरपालिका, पर्सा (मतगणना जारी, जसपाको जित सुनिश्चित)
११. त्रियुगा नगरपालिका, उदयपुर (विवादका कारण मतगणना रोकिएको)
१२. कटारी नगरपालिका, उदयपुर (मतगणना जारी)
१३. गौरीगंज गाउँपालिका, झापा (मतगणना जारी)
१४. मेचीनगर नगरपालिका, झापा (मतगणना जारी)
१५. गोलबजार नगरपालिका, सिरहा (मतगणना जारी)
१६. गढीमाई नगरपालिका, रौतहट (मतगणना जारी)
१७. फतुवा विजयपुर नगरपालिका, रौतहट (मतगणना जारी)
१८. बौधीमाई नगरपालिका, रौतहट (मतगणना जारी)
१९. पचरौता नगरपालिका, बारा (मतगणना जारी)

काँग्रेस पहिलो, एमाले दोस्रो
हालसम्म ७३४ स्थानीय तहको नतिजा आउँदा काँग्रेस पहिलो पार्टी बनेको छ । सो पाटीले प्रमुखमा १३४ तथा गाउँपालिका अध्यक्षमा १८७ स्थानमा जित हासिल गरेको छ । अझै पनि काँग्रेसले ५ पालिकामा अग्रता कायमै राखेको छ ।

यस्तै एमाले दोस्रो पार्टी बनेको छ । एमालेले प्रमुखमा ७७ तथा गाउँपालिकामा १२३ स्थान जितेको छ।  एमालेले अझै पनि ५ प्रमुख पदमा अग्रता कायमै बनाएको छ । यसैगरी तेस्रो स्थान हासिल गरेको माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जितेको छ । माओवादीको अझै २ स्थानमा अग्रता रहेको छ ।

यसबाहेक जसपा चौथो, एकीकृत समाजवादी पाँचौँ दल बन्दा लोसपा छैटौँ दल बनेको छ । यस्तै धनगढी जनकपुरधाम, धरानलगायतका पालिकामा स्वतन्त्र उम्मेदवार पनि उदाएका छन् ।

यस्तै उपमेयर–उपाध्यक्षतर्फ काँग्रेसले उप मेयरमा १०५ तथा उपाध्यक्षमा १९० स्थानमा जित हासिल गरेको छ । अझै पनि काँग्रेसको ५ स्थानमा अग्रता छ । यस्तै एमालेले उप मेयरमा १०४ तथा उपाध्यक्षमा १२५ स्थानमा जित हासिल गरेको छ । एमालेले १० स्थानमा अझै अग्रता बनाएको छ ।

तेस्रो बनेको माओवादीले ३३ उपमेयर र ९५ उपाध्यक्ष जित्दा जसपाले ११ उपमेयर र १९ उपाध्यक्ष जितेको छ । यस्तै अन्य पाली र स्वतन्त्र उम्मेदवारले ४२ उपमेयर जित्दा केही पदको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार