अमेरिकी सैनिक तैनाथी सम्झौता अगाडि बढाइँदैछ : भीम रावल

banner

bhim-rawal-3

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे ! एसिया प्रशान्त क्षेत्रका प्रमुख । यहाँका सेना अमेरिका जाने रे १,’ सांसद रावलले भने,‘यहाँ के हुँदैछ ? रक्षामन्त्री समेत रहेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई म सोध्न चाहन्छु ।’

हिन्द–प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने यसो गरिरहेको उनले दाबी गरे ।

‘एमसिसी सम्झौता पारित गर्दा हिन्द(प्रशान्त रणनीति अन्तर्गत सैनिक तैनाथी सम्झौता अर्थात ‘सोफा’ अगाडि बढाउने र केही समय अगाडि सुरु गरिएको साझेदारी सम्झौता भित्रभित्रै गर्नका लागि यो सम्पूर्ण चाँजोपाँजो मिलाइदैछ भन्ने मैले सुनेको छु,’ उनले भने ।

सांसद रावलले अर्कातिर ‘सरकार सुरक्षा नीति भन्नासाथ तर्सिन्छ कि क्या हो ?’ प्रश्न गरे ।

‘हुन त लिम्पियाधुरा, लिपुलेक र कालापानी आज भारतले अतिक्रमण गरेर बस्या छ, सरकार चुँइक्क बोल्दैन्,’ उनले भने,‘अनि थरथर कामेर जनताबाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुँ भन्दा यसैगरी थरथर कामेर राष्ट्रिय स्वधीनता र स्वतन्त्रताको रक्षा हुन्छ ?’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार