झापामा जिल्ला समन्वयको निर्वाचन मिति टुंगिएन, ६ असारमा जिल्लासभा बस्दै

राजनीति

jisasa-jhapa

झापा । देशका विभिन्न जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सकिँदा पनि झापमा निर्वाचनको मितिसमेत टुंगिएको छैन । ५ जेठमै जिल्ला समन्वय समितिका पदाधिकारीको कार्यकाल सकिएको छ । स्थानीय तहको निर्वाचन सकिएको एक महिनामा पनि समन्वय समितिको निर्वाचन मिति टुंगो लाग्न सकेको छैन ।

जिल्लासभाको पहिलो बैठक नै तय नभएकाले जिल्ला समन्वयको संख्या कति रहने भन्ने नै टुंगो नलागेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताए । उनका अनुसार यसअघि ९ सदस्यीय समन्वय समिति थियो । यसपटक पहिलो बैठक ६ असारमा राखिएको उनले बताए ।

सभाको पहिलो बैठकमा जिल्लाका १५ स्थानीय तहका ३० जना प्रमुखरउपप्रमुख अध्यक्ष, उपाध्यक्ष रहनेछन् । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने उनले बताए । ‘संविधानले एक प्रमुख, एक उपप्रमुख र कम्तीमा तीन जना महिला सदस्य गरेर पाँच जना, कम्तीमा दलित वा अल्पसंख्यक र बढीमा तीन जना खुला सदस्य भनेको छ । पहिला तीनजनै थिए । अब तीन नै जना राख्ने कि कति राख्ने भन्ने जिल्लासभाले टुंगो लगाउँछ,’ उनले भने, ‘पहिलो जिल्लासभा ६ असारमा छ । पहिलो सभाले आवश्यक संख्या निक्र्यौल गर्छ । त्यसको तीन दिनभित्र निर्वाचन कार्यक्रम सार्वजनिक हुन्छ र त्यसको दश दिनभित्र निर्वाचन सम्पन्न हुन्छ । बढीमा १९ गतेभित्र निर्वाचन सकिन्छ ।’

जिल्ला समन्वय समितिको पदाधिकारी र सदस्य चुन्न प्रमुखरउपप्रमुख तथा अध्यक्ष उपाध्यक्षले मत खसाल्न पाउँछन् । जिल्लासभामा झापामा एमालेको बहुमत छ । एमालेका १७, कांग्रेसका ९ र राप्रपा ४ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेले समन्वयको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाइसकेको छ । प्रमुखमा दमक–३ बाट निर्वाचित विश्वनाथ बराल र उपप्रमुखमा बिर्तामोड–५ बाटनिर्वाचित शान्ता रोक्कालाई उम्मेदवार बनाउने निर्णय भएको एमाले झापाका कार्यालय सचिव छवि गदालले जानकारी दिए । कांग्रेस अल्पमतमा परे पनि समन्वय समितिमा भने उम्मेदवार उठाउने भएको छ । ‘हामी अल्पमतमा भए पनि लोकतान्त्रिक पद्धतिमा सहभागी हुन्छौँ । समन्वय समितिको उम्मेदवार उठाउँछौँ,’ कांग्रेस झापाका सभापति देउमान थेवेले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार