हवाई उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि सुचारु गरिने

banner

udan

काठमाडौं । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ । यती एयरलाइन्सले ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित हुने जानकारी दिएको छ ।

श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने बताए । ‘हेलिकोप्टर त बिहानैदेखि अपरेसनमै छ, हवाईजहाज भने ११ बजेदेखि नियमित सेवामा हुन्छ,’ उनले भने ।

वायु सेवा सन्चालक संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो । त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको थियो । गृहमन्त्रालयको समन्वयमा भएको वार्तामा उडान रोक्ने निर्णयबाट वायु सेवा सन्चालक पछि हटेका थिए ।

वायु सेवा सन्चालक संघका प्रवक्ता योगराज कँडेलले प्राधिकरणसँगको वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको बताए ।

वार्तामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा सन्चालक संघले नियम पालना गर्नैपर्ने अडान राखेका थिए । अन्यथा प्राधिकरणले आवश्यक कारबाही अघि बढाउने चेतावनी उनले दिएका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानको आधार विमानस्थल (जहाँबाट बिहान पहिलो उडान हुन्छ) मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्न सर्कुलर जारी गरेको थियो । सर्कुलर अनुसार हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि र हवाईजहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विश्राम गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने थियो । यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विश्राममका लागि उपत्यका बाहिर जानुपर्ने थियो । यसको विरोधमा नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार