मन्त्री हेरफेर दिनमा होइन घण्टाभित्र हुनुपर्छ : नेकपा (एस)

राजनीति

nekapa-s

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको हेरफेर अब दिन नभएर घण्टाभित्रै हुनुपर्ने बताएको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने दावी गरे ।

‘पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र शर्त हो’, खतिवडाले भने, ‘व्यक्तिगत छलफल कसले कोसँग कति गर्यो भन्ने फरक कुरा हो, एकदमै चाँडै अब दिनहरुमा होइन, घण्टाहरूमा मन्त्रीहरुको हेरफेर गर्ने दिशातिर लागिरहेको छ । जे निर्णय गर्यो त्यो निर्णय पार्टीले कार्यान्वयन गर्नेछ’, खतिवडाको भनाइ छ ।

उनले मन्त्री भन्ने चीज कसैको चिरस्थायी नहुने पनि बताए । ‘राम्रो क्षमता देखाएको मन्त्री रहेछ भने उसप्रति एउटा मूल्याङ्कन होला । तर हाम्रो भद्र सहमति ६ महिना बसेर देखाउनुस् भन्ने थियो अहिले ८ महिना बित्न लाग्यो । विद्रोहको गुञ्जायस पनि छैन र कसैले गरेको पनि छैन’, खतिवडाको भनाइ छ ।

यसैबीच सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मन्त्री हेरफेरबारे छलफल गरेका थिए । नेकपा एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठकले मन्त्री हेरफेर गर्ने भनेर नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई दिएपनि सत्ता साझेदार दलमा परेको दवाव र आफ्नै पार्टीका केही मन्त्रीहरुले पद नछोड्ने अडान राखेपछि निर्णय नै अलपत्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार