नेकपा (एस)मा नयाँ ट्वीस्ट जीवनराम र मेटमणीहरू फेरि हिस्स

banner

nekapasamajbadi16295390971630578759

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहँदा फेरि अर्को ट्वीस्ट आएको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरूले नयाँ मन्त्रिमण्डलमा समावेश गरिनुपर्ने सांसदहरूको नयाँ सूची तयार पारेका छन् ।

यसअघि पार्टीले तयार पारेको सूचीभन्दा फरक सूची उनीहरूले प्रस्ताव गरेका हुन् । उनीहरुले तयार पारेको नयाँ लिस्टमा मेटमणी चौधरी र जीवनराम श्रेष्ठको नाम समावेश छैन ।

उनीहरूले ललितपुरका कृष्णलाल श्रेष्ठ, डडेलधुराकी निरा जैरु, डोल्पाका धनबहादुर बुढा, दाङका हिरा केसीलाई मन्त्री र मुगुका गोपाल बमलाई राज्यमन्त्री बनाउनुपर्ने प्रस्ताव पार्टीमा पेस गरेका छन् ।

पार्टीको सचिवालयले तीन हप्ताअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको थियो । पार्टीले हालका स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई मन्त्रीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने निर्णय गरेको थियो । साथै हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

तर बाहिरिने तयारीमा रहेका मन्त्रीहरूले आफूले छाड्ने शर्तमा आफैंले प्रस्ताव गरेका सांसदहरूलाई मन्त्रीहरू बनाउनु पर्ने अडान राखेका छन् ।

यसअघि उनीहरूले बजेट पास नहुन्जेलसम्म मन्त्री पद नछाड्ने अडान राखेका थिए ।

यस्तै उनीहरूले पार्टीबाट मन्त्रीको रुपमा प्रस्तावित भएका सांसदहरूबारे सार्वजनिक रुपमा नै आपत्ति जनाएका थिए । तीमध्ये केही गैरसांसदसमेतको नाम सिफारिस भएकोमा पार्टी नेतृत्वप्रति उनीहरूको आपत्ति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार