आयल निगमको प्रस्ताव : सकभर नजिक पैदल हिडौं– शनिबार गाडीरहित बिदा दिऔँ

banner

disel-petrol-11647445023

काठमाडौं ।  नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सरकारी तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली सञ्चालन गर्न अनुरोध गरेको छ ।

सरकारलाई नेपाल आयल निगमले बुझाएको १० बुँदे सुझावमा यस्तो उल्लेख गरिएको छ । सुझाव अनुसार देशका प्रमुख सहरहरुमा प्रत्यक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न सुझाव दिएको छ ।

त्यसैगरी खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्न भनेको छ ।

‘विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरु र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोकिदिने,’ निगमको प्रस्तावमा भनिएको छ, ‘पेट्रोल पम्पहरुले मोटरसाइकललाई एक पटकमा पाँच लिटर र कार तथा जीपलगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने । छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने ।’

त्यसैगरी आयल निगमले ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारीसाधानहरु पूर्ण क्षमतामा चलाउन प्रस्ताव गरेको छ ।

‘मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिटअनुरुप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने, ‘प्रस्तावमा भनिएको छ, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलगायतका अन्य उपकरणको आयात बन्द गर्ने ।

निगमले यो प्रस्ताव सरकारलाई बुझाएको छ । निगमको भार कम गर्न यस्तो प्रस्ताव गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार