मंसिर पहिलो साता आम निर्वाचन, माघभित्र नयाँ राष्ट्रपति

banner

election-commission-and-government-1024x621

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगको परामर्शअनुसार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा दशैंलगत्तै चुनावी माहौल सुरु हुनेछ, माघभित्र राष्ट्रपति र उपराष्ट्रपति चुनिएपछि निर्वाचनको एउटा चक्र पूरा हुनेछ ।

आयोगका पदाधिकारीहरुले बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिका विषयमा परामर्श दिएका छन् । आगामी २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेको आयोगले थप ३ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि निर्वाचन आयोगका पदाधिकारीहरुले ७ फागुनको प्रजातन्त्र दिवस अगाडि नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन टुंग्याउने निर्णय गरेका थिए ।

‘आवधिक निर्वाचन समयमा हुनु लोकतन्त्रको आधारभूत शर्त हो,’ आयोगका एक पदाधिकारीले भने, ‘सबै काम सकेर ७ फागुनमा प्रजातन्त्र दिवसका दिन सबै जनप्रतिनिधिहरुको निर्वाचन टुंगाएमा एउटा सन्देश जान्छ ।’

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मंसिर १० र २१ मा दुई चरणमा भएको थियो । प्रत्यक्षतर्फको परिणाम केही दिनमा आए पनि समानुपातिकतर्फको सिट बाँडफाँट माघ अन्तिममा भयो भने २० फागुनमा सांसदहरुले शपथ लिएका थिए । त्यसैले प्रतिनिधिसभाको कार्यकाल कहिलेदेखि सुरु हुने भन्ने प्रश्न उठेको छ ।

निर्वाचन आयोगले पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने विषयमा प्रष्ट संवैधानिक तथा कानुनी व्यवस्था नभएको स्वीकार गरेको छ । तर प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरक फरक मितिमा निर्वाचित भएको मान्नुपर्ने देखिएको भन्दै आयोगले भनेको छ, ‘पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको गणना गर्नु व्यवहारिक र निर्विवाद हुने देखिन्छ ।’

५ वर्षे कार्यकाल मंसिरमा सकिने भएकाले मंसिरमै चुनाव गर्नुपर्ने निष्कर्षका साथ आयोगले मंसिर २ गतेको मिति प्रस्ताव गरेको छ र, १२० दिन समय राखेर मिति घोषणा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार