अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य

banner

petrol

एजेन्सी । विश्व अर्थतन्त्र मन्दीमा जाने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्न थालेको छ । रुस–युक्रेन युद्धका कारणले कीर्तिमानी मूल्यमा पुगेको सुन र कच्चा पेट्रोलियमको मूल्य घट्न थालेको हो । यसअघि, रुसले युक्रेनमाथि आक्रमण गर्दा सुन र कच्चा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

सन् २०२२ को मार्च र जुन महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । जुन, यतिबेला घटेर प्रतिब्यारेल १०१ अमेरिकी डलरमा आइपुगेको छ । यो पछिल्लो समयमा कच्चा तेलमा आएको प्रतिब्यारेल २९ अमेरिकी डलरसम्मको गिरावट हो ।

अहिले ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०४ अमेरिकी डलर छ । जुन, एक महिना अघि १३० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको थियो । त्यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ अमेरिकी डलर प्रतिब्यारेल छ । जुन, यसअघि रुसले छिमेकी युक्रेनमाथि आक्रमण गरेसँगै बढ्न थालेको थियो ।

रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा मुलुकले रुसको तेलमाथि कठोर प्रतिबन्ध लगाएका थिए । जससँगै, विश्व बजारमा माग ह्वात्तै बढ्दा मूल्य समेत आकासिएको थियो । तर, पछिल्लो समय विश्वका दोस्रो र तेस्रो ठूला बजार चीन र भारतले रुसबाट हुने तेल आयातलाई ह्वात्तै बढाएका छन् । विशेषगरी सस्तो दरमा कच्चा तेल आपूर्ति गरिदिएपछि यी दुई मुलुकले रुसबाट तेल आपूर्ति बढाएका हुन् ।

तर, यही कारणले विश्व बजारमा तेलको मूल्य ओरालो लागेको भने होइन । खासगरी, कोभिड महामारीको प्रभाव र रुस–युक्रेन युद्धका कारण यतिबेला विश्व अर्थतन्त्र मन्दीमा जाने अड्कलबाजी भइरहेको छ । जसकारण, विश्व बजारमा पेट्रोलियम पदार्थको खपत घट्ने अनुमानसहित मूल्य घट्न थालेको हो । अमेरिकाको सिटी बैंक समूहले केही साता अघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ६५ अमेरिकी डलरसम्म आइपुग्ने प्रक्षेपण गरेको थियो ।

कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य घट्नासाथ नेपाल पनि त्यसबाट लाभान्वित हुने नेपाल आयल निगमको भनाइ छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट आउने नयाँ मूल्यसूची नै घटेर आउने सम्भावना रहेको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपालमा पर्छ नै । यसबाट निगमको घाटाको बोझ केही कम हुने देखिएको छ ।’ यसैगरी, प्रशोधन गर्दा लाग्ने तयारी वस्तुको लागतमा समेत गिरावट आउने देखिएको निगमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार