श्रीलंकाका राष्ट्रपतिले सिंगापुर पुगेर दिए राजीनामा

अन्तराष्ट्रिय

gotabaya

एजेन्सी । श्रीलंकामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन् । अभूतपूर्व आर्थिक संकटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मंगलवार राति भागेर माल्दिभ्स पुगेका थिए । उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए ।

उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए। राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन । सिङ्गापुर सरकारले उनलाई ‘निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश’ दिएको बताएको छ ।

यसअघि उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए । तर उनले बुधवार त्यस्तो कुनै पत्र पठाएनन् । यद्यपि बिहीवार अबेर श्रीलंकको संसद्‌का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिएका छन् ।

srilanka-2

राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ । उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, ‘उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यत ः शरणको अनुरोध स्वीकार गर्दैन ।’

राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिघे शपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्ने छैनन् । शपथ लिएपछि सं‌स‍द्‌बाट अनुमोदित हुन उनीसँग ३० दिनको समय हुनेछ ।

यदि उनी अनुमोदित भएनन् भने सांसदहरूले नयाँ राष्ट्रपतिका लागि मतदान गर्न आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार