चिनियाँ नेताले भेटे लगत्तै प्रचण्डलाई भारतले बोलाउनुको यस्तो छ रहश्य

banner

_125907955_gettyimages-1230675480-jpg

काठमाडौं । चिनियाँ नेताहरू चारदिने नेपाल भ्रमणबाट स्वदेश फर्किएको भोलिपल्टै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जान लागेका छन् । तर झन्डै ‘डेढ महिना’ अघि आएकोू निम्तोअनुसार शुक्रवारबाट हुन लागेको भनिएको उक्त भ्रमणको उद्देश्यबारे सोध्दा उनकै दलका कतिपय वरिष्ठ नेताहरू बेखबर रहेको पाइएको छ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड नयाँ दिल्ली जान लागेको उनी निकटस्थ नेताहरूले जनाएका छन् ।दिल्लीमा उनले एउटा कार्यक्रमलाई सम्बोधन गर्ने भनिएको छ। तर भेटघाटको विस्तृत कार्यक्रम सार्वजनिक भइसकेको छैन।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुखले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ताहरू गरेर फर्किएलगत्तै प्रचण्ड नयाँ दिल्ली जान लागेका हुन् । नेकपा माओवादीका विदेश विभाग उपप्रमुख राम कार्की अध्यक्ष प्रचण्डको भारत भ्रमणबारे आफूलाई जानकारी नभएको बताउँछन् ।

उनले भने, ‘यसबारे पहिला केही पनि चर्चा नै थिएन। भ्रमणबारे मलाई थाहा छैन ।’ चिनियाँ नेताहरूको भ्रमणसँगै प्रचण्डलाई दिल्लीमा आमन्त्रण गरिएको हुनसक्ने संकेत गर्दै उनले थपे, ‘भारतले चाँडै प्रतिक्रिया जनाउने गर्छ।’ सोमावार चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ जियानछाओ सहितको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थियो ।

त्यसमा नेपालको असंलग्न विदेशनीति र वाम दलहरूबीचको एकतासहितका विषयमा छलफल भएका विवरणहरू आएका छन् । चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटको भोलिपल्टै काठमाडौंस्थित भारतीय राजदूतले प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको माओवादी केन्द्रका अर्का नेताले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

उनी भन्छन्, ‘मैले बुझेसम्म भारतीय राजदूतले गएर निम्तो दिनुभएको हो। यो पूर्वनिर्धारित भ्रमण चाहिँ होइन। अहिले यो नयाँ भ्रमण नै हो । चिनियाँ नेतालाई भेटेपछि अकस्मात् निम्तो दिन आएका हुन्।’ भारत भ्रमणमा हुने भेटवार्ता र छलफलका विषयका बारेमा पनि हालसम्म नखुलाइएको ती नेताले बताए ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भारतीय जनता पार्टीका अध्यक्षबाट करिब डेढ महिनाअघि नै भ्रमणको निम्तो आएको र अहिले भ्रमण हुन लागेको बताए। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भाजपाका तर्फबाट डेढ महिनाअघि नै निम्तो आए पनि केन्द्रीय कमिटी बैठक भइरहेकाले पछि भ्रमण गर्ने जबाफ पठाइएको तर अहिले आएर भ्रमणमा जाने निश्चित भएको बताएका छन् ।

भ्रमणका क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको मल्लले बताए।

भ्रमणको अर्थ के हुन सक्छ ?
नेपाल–भारत सम्बन्धमा दक्खल वरिष्ठ पत्रकार युवराज घिमिरे प्रचण्डको दिल्ली भ्रमणलाई चीनसँग जोडेर हेर्नुपर्ने बताउँछन् । ‘नेपालमा आफ्नो राजनीतिक र आधारभूत हितहरूलाई सुनिश्चित गर्न भारत र चीनबीच एक किसिमको प्रतिस्पर्धा छ।’ उनीहरूकोे नेपालका राजनीतिक दलहरूसँग एउटा नीतिगत र अरू स्थायी सम्बन्ध भएन।

सत्ताको लागि सबै एक ठाउँमा आउने भए पनि दुवैले सबै पार्टीहरूसँग सम्बन्ध राख्नुपर्छ भनेर बुझेका छन् र त्यतातिर गइरहेका छन् भन्ने मलाई लाग्छ।ू उनले पछिल्लो पटक अमेरिकी रक्षा साझेदारी स्टेट पार्टनरशिप कार्यक्रमसम्म आइपुग्दा नेपालमा बढिरहेको अमेरिकी प्रभावका बारेमा पनि दिल्ली र बेइजिङ एक ठाउँमा उभिएको टिप्पणी गरे।

‘मलाई लाग्छ जब नेपाल सरकार अर्थात् प्रधानमन्त्री त्यसको पक्षमा देखिन थालेका थिए त्यस बेला भारत पहिलो पटक अमेरिका यो हदसम्म नेपालमा आउनु उसको सुरक्षा र सामरिक हितका लागि ठिक छैन भन्ने निष्कर्षमा पुग्यो,’ उनले भने । ‘उसले आफ्ना आधारभूत हित र स्वार्थका कुराहरू उसले सबै नेपालका महत्त्वपूर्ण दलहरूसँग कुरा गर्नुपर्ने अवस्था आयो।’

उनका अनुसार भारतको संस्थापनपक्ष र चीन दुवै अहिले नेपालमा आफ्नो पक्षमा उभिने कुनै पनि स्थायी शक्ति नरहेको ठान्छन् । विगतमा राजसंस्था र नेपाली कांग्रेससँग मिलेर दुवै देशहरूले काम गर्ने गरेको भए पनि अहिले दुवै देशले चुनौती सामना गर्नु परिरहेको उनको विश्लेषण छ ।

पत्रकार घिमिरेले भने, ‘राजतन्त्र भारतकै सक्रियतामा समाप्त भएको थियो। आफैँले अघि बढाएको भए पनि माओवादीको विश्वमान्यता भारतविरुद्ध देखियो । नेपाली कांग्रेस पनि अझै कमजोर भएर आएको अवस्था थियो। त्यही भएर अहिलेको परिस्थितिमा माओवादी कमजोर त भएको छ, तैपनि उसलाई आफ्नो विश्वासमा लिनु आवश्यक ठानेर प्रचण्डलाई निम्तो गरिएको जस्तो मलाई लाग्छ।’

नेपालका कुनै पनि स्थापित दल आफ्नो स्वार्थविपरीत नजाऊन् भन्ने उद्देश्य राखेर प्रचण्डलाई नयाँ दिल्लीमा आमन्त्रण गरिएको हुनसक्ने भन्दै पत्रकार घिमिरेले भने, ‘त्यो पनि चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख फर्किनेबित्तिकै हुन लागेको भ्रमणलाई चीनबाट टाढा राखेर अलग ढङ्गले हेर्न सकिँदैन ।’

हिन्दू राष्ट्रवादी दलका रूपमा परिचित भाजपा आफ्नो देशका धार्मिक अल्पसङ्ख्यक त्यसमा पनि मुख्यतः मुस्लिमहरूप्रति अँगालेको नीतिका कारण आलोचित रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार