रक्सी खाने र बिक्री गर्नेलाई ढुङ्गा बोकाउने निर्णय

स्थानिय खबर

madira-alcohol

डोटी । जिल्लाका स्थानीय तहले रक्सी खान तथा बिक्री वितणसमेत रोक्ने निर्णय गरेका छन् ।

केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले रक्सी बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले रक्सी खाए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

वडामा रक्सी बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको उनको भनाइ छ । वडामा सञ्चालन हुने गाडीमा रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि रक्सी बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले रक्सी ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी रक्सी खाने गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक खानेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।

सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा रक्सी बिक्री वितरण तथा खान पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए ।

जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने रक्सी बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।

कतिपय स्थानीय तहमा लाइसेन्स लिएर रक्सी बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार