आज पुष्पलाल स्मृति दिवस मनाइदैं

banner

yiuj98zp91nonnitxezkmk3bkoe3kjffhkl2led6

काठमाडौं । आज साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको स्मृति दिवस । क.पुष्पलालका योगदानलाई स्मरण र चीर स्थायी बनाउन विभिन्न कार्यक्रम गरी ४४औं स्मृति दिवस मनाइँदै छ ।

नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले क.पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम विहान ८ बजे हुने कार्यालय सचिव डा.भीष्म अधिकारीले वताए।

क.पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा भएको थियो भने २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा निधन भएको थियो ।

क. पुष्पलालले सन् १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरू निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरताका रूपमा आज नेकपा (एमाले) सशक्त र लोकप्रिय पार्टीका रूपमा देशभर स्थापित भएको छ । यसले एउटा राष्ट्रिय शक्तिको रूप ग्रहण गर्दै छ ।

क.पुष्पलालले ५४ बर्षको आफ्नो जीवनकालमा गरेको कठोर सङ्घर्ष, निष्ठापूर्ण राजनीति र इमानदार प्रयास आजको मजबुत कम्युनिस्ट आन्दोलनको आधारशीलाका रूपमा रहेको छ ।

क. पुष्पलालले दूरदर्शिता, त्याग र इमानका प्रतीकका रूपमा नेपालको राजनीतिमा अद्वितीय स्थान बनाउन सफल हुनुहुन्छ । नेपालमा कम्युनिस्ट विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमबाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ काम सुरू गर्ने नेता भएकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका स्रोतका रूपमा रहिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार