रुसले युरोपेली संघमा ग्यास निर्यात घटाउने

अन्तराष्ट्रिय

gas-urop

एजेन्सी । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले बताएको छ।

ग्याजप्रोमले नर्ड स्ट्रीम(१ पाइपलाइनको अर्को टर्बाइन बन्द गरिने र यसले ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने उल्लेख गरेको छ। यसको अर्थ अहिले ईयूमा भइरहेको ग्यास आपूर्ति आधा कम हुनसक्छ। जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै प्राविधिक कारण नरहेको बताएको छ।

यो निर्णयले युरोपेली सङ्घका देशहरूलाई जाडो महिनाअघि उनीहरूका भण्डारणमा ग्यास जोहो गर्न थप कठिन बनाउने देखिएको छ। नर्ड स्ट्रिम–१ पाइपलाइनले रुसबाट जर्मनीसम्म ग्यास पुर्‍याउँछ। तर यसबाट केही साताअघिबाटै क्षमता भन्दा कम मात्रामा ग्यास आपूर्ति भइरहेको छ। यही महिनाको सुरुमा मर्मतका लागि यो पाइपलाइन १० दिन पुरै बन्द गरिएको थियो ।

रुसले गत वर्ष ईयूका देशहरूमा उसको ४० प्रतिशत ग्यास निर्यात गरेको थियो । इन्धनलाई हतियारको रूपमा प्रयोग गरेको आरोप ईयूले रुसमाथि लगाउँदै आएको छ।

रुसले ग्यासको आपूर्तिमा कटौती गर्ने वा ठप्प बनाउनसक्ने बताएपछि युरोपेली आयोगले देशहरूलाई ग्यासको प्रयोगमा आगामी सात महिनाभित्र १५ प्रतिशत कटौती गर्न आग्रह गरेको छ । यसले ग्यास संकट परेको अवस्थामा सहयोग पुग्ने ठानिएको छ।

खपत घटाउने योजना
युरोपेली आयोगका प्रमुख उर्जुला फोन डेर लायनले रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने ुसम्भावित परिदृश्यु हुनसक्ने बताएकी छन्। ग्यास खपत घटाउने प्रस्ताव कार्यान्वयनमा ल्याउन ईयूका ऊर्जा मन्त्रीहरू मङ्गलवार ब्रसल्समा भेट्दैछन्।

तर कतिपय सदस्य राष्ट्रहरूले यस्तो प्रस्तावको प्रतिरोध गर्ने ठानिएको छ। रुसले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि ग्यासको थोक मूल्य आकासिएको छ र यसले उपभोक्ताहरूको खर्च बढाएको छ।

ग्याजप्रोमको घोषणाबारे प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसले एकताबद्ध युरोप विरुद्ध ग्यास युद्ध सुरु गरेको’ बताएका छन्। ग्याजप्रोमले भने चालू अवस्थामा रहेका बाँकी दुई वटा मध्ये एउटा टर्बाइनको ‘प्राविधिक अवस्था’का कारण बुधवारबाट आपूर्ति कटौती हुने जनाएको छ।

प्राविधिक कारणमा आशंका
तर जर्मनीको अर्थ मन्त्रालयका प्रवक्ताले एएफपी समाचार संस्थालाई भनेका छन्, ‘हामीसँग भएको सूचनामा निर्यात घटाउनुपर्ने कुनै पनि प्राविधिक कारण देखिँदैन ।’ क्रेमलिनले भने आफ्नो देश भरपर्दो ऊर्जा साझेदार भएको दाबी गर्दै आएको छ। उसले ईयूमा ग्यास आपूर्ति अवरुद्ध हुनुमा पश्चिमा प्रतिबन्धलाई कारणको रूपमा ‍औँल्याउने गरेको छ।

ग्याजप्रोमले प्रतिबन्धका कारण मर्मतका लागि क्यानडा पठाइएको उपकरण आउन ढिला भएको र नर्ड स्ट्रीम –१ बाट क्षमताको ४० प्रतिशत मात्रै ग्यास पठाउन सकिएको बताएको छ । ‘हाम्रो उत्पादनमा हाम्रै नियम हुन्छ, हामीले नबनाएको नियममा हामी चलखेल गर्दैनौँ,’ ग्याजप्रोमका प्रमुख कार्यकारी एलेक्सी मिलरले भने।

नर्ड स्ट्रीम–१ बाट ग्यास पठाउने काममा निरन्तर गिरावट आएपछि जाडो याममा खपत बढ्ने इन्धनको जोहो गर्न ईयूका देशहरूलाई कठिन हुने ठानिएको छ। इन्धनको भुक्तानी युरो वा डलरको सट्टा रुसी रुबलमा गर्न अस्वीकार गरेपछि ग्याजप्रोमले बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, द नेदरल्याण्ड्स र पोल्यान्डमा यसअघि नै ग्यास निर्यात घटाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार