चीनको कारबाहीले अस्थिरताको जोखिम बढायो : जी ७ का राष्ट्र

अन्तराष्ट्रिय

taiwan_gornvmg2lt

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान छोडेपछि चीनले आजदेखि आसपासका क्षेत्रमा सैन्य कारबाही सुरु गरेको छ । ताइवानले आफ्नो आकाशमा २७ चिनियाँ लडाकु विमान प्रवेश गरिसकेको जनाएको छ ।

चीनले यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा हुने र यस अवधिमा ‘लामो दूरीको गोलाबारुद’ प्रहार गरिने जनाएको छ ।

ताइवानले यस अभ्यासबाट बच्न जहाजहरूलाई वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ । यससँगै छिमेकी मुलुक जापान र फिलिपिन्ससँग वैकल्पिक हवाई रुटका लागि पनि छलफल भइरहेको छ ।

चीनको चेतावनीको बाबजुद न्यान्सी पेलोसी मंगलबार ताइवान पुगिन् । उनी बुधबार ताइवानका राष्ट्रपति साइ इङ वेनलाई भेटेर अमेरिका प्रस्थान गरेकी हुन् ।

यस मामिलालाई शान्त पार्न जी–७ समूहका देशका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै चीनको कारबाहीले क्षेत्रमा अस्थिरताको जोखिम बढाएको बताएका छन् । जी–७ समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिका पर्छन् ।

‘ताइवान स्ट्रेटमा भ्रमणको बहानामा आक्रामक सैन्य गतिविधि सञ्चालन गर्नुको कुनै औचित्य छैन । हाम्रा देशका सांसदहरू नियमित रूपमा अन्तर्राष्ट्रिय यात्रा गर्छन् र यो सामान्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

पेलोसी २५ वर्षमा पहिलो पटक ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी उच्च अधिकारी हुन् । चीनले उनलाई यो यात्रा नगर्न चेतावनी दिएको थियो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र यसको स्वतन्त्रताको विरोध गर्दछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले ‘तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लंघन गरेको’ आरोप लगाएका छन् । ‘आगोसँग खेल्नेहरु खरानी हुन्छन्  र चीनलाई उक्साउनेलाई कारबाही हुन्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार